सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेलाई निःशुल्क उपचार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिलाई निःशुल्क स्वास्थ्योपचार प्रदान गर्ने भएको छ । जसअन्तर्गत ज्येष्ठ नागरिक, एकल महिला, हिंसामा परेका व्यक्ति, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक हिंसामा परेका जो कोही व्यक्तिहरूलाई निःशुल्क उपचार गर्ने प्रक्रिया कामपाले अघि बढाइसकेको जनाएको छ ।
यसरी उपचार गर्नका लागि कामपाले छत्रपाटी निःशुल्क चिकित्सालयसँग चालु आर्थिक वर्षका लागि सम्झौता गरिसकेको कामपाकी उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो । उहाँले पारिवारिक समस्याका कारण आफ्नो कोही नभएर उपचारमा जान नसक्नेहरू पनि महानगरपालिका छन् भन्ने महसुस हुन थाल्नु सुखद नतिजाको प्रारम्भ भएको बताउनुभयो ।
कामपाको प्रमुख प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले आवश्यक पर्नेले सजिलै सेवा प्राप्त गर्ने र सम्भावित दुरुपयोग रोक्ने प्रणालीबाट सेवा प्रवाह गर्न अस्पताललाई आग्रह गर्नुभयो ।
सम्झौताबमोजिम कामपाका जनप्रतिनिधि, कर्मचारीहरूलाई पनि उपचार सेवा उपलब्ध हुनेछ । महिला कर्मचारी तथा जनप्रतिनिधिलाई म्यामोग्राम सेवा उपलब्ध गराइनेछ । त्यस्तै लैङ्गिक हिंसामा परेका व्यक्ति, बेवारिसे व्यक्ति, एकल महिला, अपाङ्गता भएका व्यक्ति र सिटी स्क्यान गर्नुपर्ने कर्मचारीका लागि सामाजिक विकास विभागको सिफारिस आवश्यक पर्नेछ । यसरी गरिएको उपचार खर्च महानगरपालिकाले व्यहाेर्नेछ ।
उपचारका लागि महानगरपालिकाले चालु आवमा रु एक करोड ५० लाख विनियोजन गरेको छ । यसमा अस्पतालले ३० प्रतिशत थप गरेर रु एक करोड ८० लाख बराबरको उपचार सेवा उपलब्ध गराउने कामपाले जानकारी दिएको छ । सेवा लिन कर्मचारी र जनप्रतिनिधिहरूलाई परिचयपत्र, ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता कार्ड, राष्ट्रिय परिचय पत्र, नागरिकता अनिवार्य आवश्यक कामपाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्