तपाईँ सुन्दै हुनुहुन्छः

‘भयरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सरकारले पूर्ण तयारीका साथ काम गरिरहेको छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले भयरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सरकारले पूर्ण तयारीका साथ काम गरिरहेको बताउनुभएको छ । 

संसद्को सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आज संसद् सचिवालय सिंहदरबारमा बसेको बैठकमा गृहमन्त्री अर्यालले निष्पक्ष र शान्तिपूर्ण निर्वाचन गराउन सरकार पूर्ण प्रतिबद्धताका साथ काम गरिरहेको बताउनुभयो । 

गृहमन्त्री अर्यालले निर्वाचनको तथा देशको समग्र शान्ति सुरक्षालाई ध्यानमा राखेर पटक पटक सुरक्षा समितिको बैठकहरू बसेको र एकीकृत सुरक्षा रणनीति तय गरी सोही अनुसार सरकार अगाडि बढिरहेको बताउनुभयो ।

गृहमन्त्री अर्यालले सुरक्षा व्यवस्था चुस्त बनाउन सुरक्षा निकायबाट संयुक्त सुरक्षा गस्ती बढाइएको, विभिन्न समूहहरूबाट हुने धर्ना, जुलुस र प्रदर्शनमा सूक्ष्म निगरानी राखिएको र राजनीतिक दलका प्रतिनिधाहरूसँग समेत विभिन्न चरणमा छलफलहरू भइरहेको बताउनुभयो । 

जेन्जी आन्दोलनका क्रममा लुटिएका हतियार र भागेका कैदीवन्दीहरुले निर्वाचनको सुरक्षा चुनौती बढाउने तर्फ सरकार सचेत रहेको उल्लेख गर्नुहुँदै गृहमन्त्री अर्यालले हाल सम्म भागेका १४ हजार ५ सय ५४ कैदीबन्दी मध्ये ४ हजार ८ सय ५७ जना बाहेक अन्य सबै पक्राउ परिसकेको, लुटिएका ७ सय २३ हतियारहरू फिर्ता भएको र बाँकी कैदीबन्दी तथा हतियारहरूको खोजी कार्यका लागि सबै सुरक्षा निकायको समन्वयमा विशेष अनुसन्धान टोली परिचालन गरिएको बताउनुभयो ।

यस्तै आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीमा संलग्न ५ सय ९५ जनालाई पक्राउ गरिएको र २ सय ८३ जनाविरुद्ध मुद्दा दर्ता भइसकेको गृहमन्त्री अर्यालले समितिलाई जानकारी दिनुभयो । 

बैठकमा सांसदहरूले निर्वाचनका लागि सरकारले राजनीतिक दलहरूलाई विश्वासमा लिएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । 

पछिल्ला घटनाक्रमले सरकार, जेन्जी समूह र राजनीतिक दल एकले अर्कोलाई निषेध गर्न खोजेजस्तो देखिएको भन्दै सांसदहरूले सबै पक्षबीच  विश्वासको वातावरण बनाउन सरकारले नेतृत्व लिनुपर्ने बताउनुभयो ।

यस्तै बैठकमा सांसदहरूले राजनीतिक विश्वासको वातावरण बनाउन तत्काल राष्ट्रिय सभाको बैठक बोलाउनुपर्ने, सुरक्षा निकायको मनोबल बढाउनुपर्ने लगायतका विषयमा गृह मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button