तपाईँ सुन्दै हुनुहुन्छः

हुम्लामा पानीका धारामा बरफ जम्न थाल्यो

सिमकोट,हुम्ला ।  हिमाली जिल्ला हुम्लामा यतिबेला अत्यधिक चिसो बढ्दै जान थालेपछि पानीका धारामा बरफ जम्म थालेको छ । सदरमुकाम सिमकोटसहित उत्तरी भेगका उच्च भूभागमा बिहानबेलुका चिसो अत्यधिक बढ्न थालेपछि खानेपानीका धारामा बरफ जम्न सुरु भएको हो ।

डाँडाफयाका स्थानीय बाँच सुनारले बेलुकादेखि पानीका धारा खुला राखेपनि चिसो अत्यधिक हुँदा बिहान बरफ जमेको हुने बताउनुभयो । “घाम नलाग्दासम्म धारामा पानी नआउने समस्या छ । यस्तै जम्मा गरेर राखेका भाँडाका पानी पनि बरफ हुन थालेको हो”, उहाँले भन्नुभयो ।

उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा, लिमी, यारीलगायत क्षेत्रमा रातिको समयमा अत्यधिक चिसो हुने भएकाले बिहानको समयमा बरफ जम्न थालेको स्थानीय बताउँछन् । बोतल, बाल्टिनलगायत अन्य सामग्रीमा जम्मा गरेर राखेको पानीसमेत जमेर बरफ हुने गरेको लिमी स्वास्थ्यचौकीमा कार्यरत लोग बोहराले बताउनुभयो । यहाँको तापक्रम माइनसमा झरेको उहाँले जानकारी दिनुभयो ।

यतिबेला बिहानबेलुका र रातिको समयमा लिमीको तापक्रम माइनस दश डिग्रीसम्म पुग्ने गरेको छ । तापक्रम माइनसमा झरेपछि नागरिकले हिमपात नहुँदै यस वर्ष बढी चिसो महसुस हुन थालेको स्थानीय कुञ्चोक लामाले बताउनुभयो । विगतका वर्षभन्दा यस वर्ष यहाँ चिसो अत्यधिक महसुस गरिएको उहाँको भनाइ छ । 

चिसोका कारण घाम नलाग्दासम्म वृद्धवृद्धा, बालबालिकालाई घर बाहिर निस्कन समस्या हुने गरेको छ । कात्तिक दोस्रो साताअघि लिमीलगायत उच्च क्षेत्रमा रहेका प्रहरी चौकी जिल्ला सदरमुकामतिर फिर्ता भइसकेका छन् । पुस र माघ दुई महिना हुम्लामा अत्यधिक हिमपात हुनुका साथै तापक्रम माइनस १५ डिग्रीभन्दा बढी हुने गर्दछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button