नीति–नेतृत्व निर्माणको ऐतिहासिक मौका महाधिवेशन : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन सफल होस् भन्दै शुभकामना व्यक्त गर्नुभएको छ।
महाधिवेशनको पूर्वसन्ध्यामा जारी शुभकामना सन्देशमा उहाँले वर्तमान राजनीतिक जटिलताबीच महाधिवेशनले पार्टीलाई अग्रगमनतर्फ अघि बढाउने विश्वास व्यक्त गर्नुभयो। महाधिवेशन नीति तथा नेतृत्व निर्माणमार्फत सामाजिक–आर्थिक रूपान्तरणतर्फ पार्टीलाई मार्गदर्शन गर्ने ऐतिहासिक अवसर भएकाे उहाँले सन्देशमा उल्लेख गर्नुभएकाे छ।
पूर्वराष्ट्रपति भण्डारीले विशेष परिस्थितिका कारण निर्धारित समयभन्दा अघि महाधिवेशन हुन लागेकाले प्रतिनिधि छनोटमा वैचारिक परिपक्वता, अनुशासनयुक्त युवा पुस्ताको सहभागिता र विभिन्न क्षेत्रको सन्तुलित प्रतिनिधित्व सुनिश्चित गर्न पार्टी पंक्तिलाई जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आग्रह गर्नुभएकाे छ।
आफ्नो पार्टी सदस्यता नवीकरण भइसके पनि नेतृत्वगत कारणले महाधिवेशनमा उपस्थित हुन नसक्ने बताउँदै उहाँले पार्टी परिवारप्रति निरन्तर साथ र प्रतिबद्धता रहने प्रतिवद्धता व्यक्त गर्नुभयो।
उहाँले एमाले देशभक्त, राष्ट्रवादी तथा प्रगतिशील नेपाली जनताको आशा–भरोसाको केन्द्र बनेको उल्लेख गर्दै महाधिवेशन पूर्ण रूपमा सफल होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।








प्रतिक्रिया राख्नुहोस्