प्रधानमन्त्रीको सचिवालयमा अब छ जना मात्र
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालय तथा विज्ञ समूहको आकार घटाउने निर्णय गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले बुधबार जारी गर्नुभएको विज्ञप्तिमा अब सचिवालयमा छ जना मात्र रहने उल्लेख छ ।
सचिवालयमा मुख्य सल्लाहकार एक, जनसम्पर्क सल्लाहकार एक, प्रमुख स्वकीय सचिव एक, प्रेस संयोजक एक, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) एक र जनस्वास्थ्यविज्ञ (अवैतनिक) एक गरी छ जना मात्र कायम राखिएको विज्ञप्तिमा जनाइएको छ । बाँकी सबै नियुक्ति प्रधामन्त्री कार्कीले मङ्सिर ११ गतेदेखि लागू हुनेगरी खारेज गरिएका छन् ।
प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि २०७४ (एघारौँ संशोधन २०८१) अनुसार प्रधानमन्त्रीको सचिवालयमा विभिन्न पदका ६६ जनाको दरबन्दी कायम रहेको छ । प्रधानमन्त्री कार्कीले अति जरुरी पदमा मात्र नियुक्ति गरी जम्मा २० जनाको मात्र सचिवालय बनाउनुभएको थियो । अब २० जनाबाट पनि घटेर छ जनामा सीमित हुने भएको छ ।








प्रतिक्रिया राख्नुहोस्