बर्दघाट–सुचाउ भगिनी सम्बन्ध स्थापनाको तयारी
नवलपरासी, पश्चिम् ।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका र चीनको सुचाउ महानगरपालिका अन्तर्गतका केही नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गर्न तयारी भइरहेको छ। यसका लागि प्रारम्भिक छलफल पनि भइसकेको छ।
नगर प्रमुख शम्भुलाल श्रेष्ठका अनुसार बर्दघाट–सुचाउ भगिनी सम्बन्ध मुख्य रूपमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने गरी स्थापना गर्न लागिएको हो। नगर उपप्रमुख रुद्र प्रकाश उपाध्याले यस सम्बन्धले बर्दघाट नगरपालिकाको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्न र अन्तर्राष्ट्रिय बजारमा प्रचार–प्रसारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
सुचाउ युनिभर्सिटी अफ टेक्नोलोजीका प्रोफेसर चाङ वाई र सोही अस्पतालमा बालरोग विशेषज्ञ डा. केशव कुवर लगायतको टोलीले भगिनी सम्बन्ध स्थापनाको प्रक्रिया सहज बनाउन सहयोग गरिरहेको छ। टोलीले आज बर्दघाटका स्वास्थ्य संस्था र सामुदायिक विद्यालयको स्थलगत अवलोकन गरेर बस्तुस्थिति र सम्भाव्यता मूल्याङ्कन गरेको छ।
टोलिले बर्दघाटको दिब्यज्योती बहुमुखी, दाउन्ने क्यापस, चिसापानी अस्पताल र सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ताको अवलोकन गरेको छ। प्रोफेसर चाङ वाईले शिक्षक र व्यवस्थापन समितिलाई चीनमा अध्ययन तथा अध्यापन विधि अवलोकनका लागि आउन पनि आग्रह गर्नुभएको छ।
यो भगिनी सम्बन्धले शिक्षा, स्वास्थ्य, उद्योग–व्यापार, पर्यटन, खेलकुद, संस्कृति र प्रविधि आदानप्रदानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। यसअघि पनि प्रोफेसर चाङ वाईको पहलमा पोखरा महानगर र चीनको सुचाउ नगरबीच भगिनी सम्बन्ध स्थापना भइसकेको छ।







प्रतिक्रिया राख्नुहोस्