अमेरिका–युक्रेनबीच शान्ति योजनामा ‘साझा सहमति’,रूस असन्तुष्ट
काठमाडौं । रुससँगको युद्ध अन्त्यका लागि तयार हुँदै गरेको शान्ति योजनामा अमेरिका र युक्रेनबीच साझा सहमति बनेको किएभले जनाएको छ। यो योजना गत साता अमेरिकाले दिएको २८-बुँदे मस्यौदामा आधारित भए पनि जिनिभामा भएको अन्तिम छलफलपछि परिष्कृत गरिएको बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत दुवै पक्षका थप सुझाव समेटेर मस्यौदा सुधारिएको जानकारी दिनुभयाे। उहाँका विशेष दूत स्टिभ विट्कफलाई मस्को पठाइने र त्यही समयमा अमेरिकी आर्मी सेक्रेटरी ड्यान ड्रिस्कल किएभ पुग्ने तयारी गरिएको छ।
क्रेम्लीनको असन्तुष्टि
रुसले संशोधित मस्यौदा आफूलाई नदर्शाइएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ। रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले प्रारम्भिक मस्यौदाप्रति रुस सकारात्मक भए पनि धेरै परिमार्जन गरिए त्यसले “अवस्था नै बदलिने” चेतावनी दिनुभयाे।
अझै समाधान नभएका संवेदनशील मुद्दा
नयाँ योजनामा युक्रेनलाई दिइने सुरक्षा ग्यारेन्टी, र पूर्वी युक्रेनका युद्धग्रस्त क्षेत्रहरूको नियन्त्रण जस्ता जटिल विषय अहिले पनि बाँकी रहेको युक्रेनले बताएको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यी संवेदनशील विषयमा ट्रम्पसँग प्रत्यक्ष भेटेर छलफल गर्न चाहेको बताउनुभएकाे छ।
युरोपेली शंका यथावत्
अमेरिकी सकारात्मक संकेतहुँदै गर्दा फ्रान्स र बेलायतले भने रुसले अझै युद्धविराममा रुचि नदेखाएको दाबी गरेका छन्।
रुस युक्रेनलाई पूर्वी डोनबास पूर्ण रूपमा छाड्नुपर्ने माग दोहोर्याइरहेको छ, साथै क्राइमिया, खेअरसन र जापोरिज्या क्षेत्रमा पनि उसका फौजहरूको ठूलो उपस्थितिरहिरहेकाे छ।
सन् २०२२ फेब्रुअरीदेखि सुरु भएको रुस–युक्रेन युद्ध अहिलेसम्म जारी छ।








प्रतिक्रिया राख्नुहोस्