दुर्गम जिल्लाको विकास सरकारको प्राथमिकतामा : मुख्यमन्त्री शाह
बाजुरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बाजुरा लगायतका दुर्गम जिल्लाको विकासलाई सरकारले पहिलो प्राथमिकता दिएको बताउनुभएको छ।

बाजुराको सर्वाधिक विकट मानिने हिमाली गाउँपालिका स्थित मैतार्ना बिछ्या सडक शिलान्यास गर्नुहुँदै उहाँले दुर्गम गाउँ बस्तीसम्म आधुनिक विकासका संरचना पुर्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।
बुढिनन्दा, बडीमालिका, त्रिवेणी र हिमाली गाउँपालिकाका विभिन्न बस्तीतर्फ पुग्नुभएका मुख्यमन्त्री शाहले स्थानीय प्रतिनिधि र नागरिकहरूसँग विकासका चुनौती तथा आगामी योजनाबारे प्रत्यक्ष संवाद समेत गर्नुभयो । साथै बाजुरा तथा आसपासका हिमाली बस्ती अझै आधारभूत पूर्वाधारबाट बञ्चित रहेको उल्लेख गर्नुहुँदै उहाँले सडक, शिक्षा, स्वास्थ्य, खानेपानी र ऊर्जा क्षेत्रमा तत्काल काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको जानकारी दिनुभयो।

विकासका काममा स्थानीयको सहभागिता र अनुगमन महत्वपूर्ण हुने बताउनुहुँदै मुख्यमन्त्री शाहले प्रदेश सरकार अब दिगो तथा छुन सकिने प्रकारको विकासमा केन्द्रित भएको बताउनुभयो । चार दिनको निरीक्षण र स्थलगत अवलोकनले स्थानीयवासीमा आशा र भरोसा बढेको छ। विगतमा विकासका योजनाहरू कागजमै सीमित हुने गुनासो रहने बाजुराका बासिन्दाले यसपटक मुख्यमन्त्री स्वयं गाउँघर पुगेकोलाई सकारात्मक रुपमा लिएका छन्।








प्रतिक्रिया राख्नुहोस्