२५औँ आहा रारा पोखरा गोल्डकप माघ अन्तिम साताबाट हुने

पोखरा। देशकै प्रतिष्ठित फुटबल प्रतियोगितामध्ये एक आहा रारा पोखरा गोल्डकपको २५ औँ संस्करण आगामी माघ २७ गतेदेखि पोखरामा हुने भएको छ ।
पोखरा रङ्गशालामा आउँदो फागुन ९ गतेसम्म उक्त प्रतियोगिता हुने भएको आयोजक सहारा क्लब पोखराले आज (सोमबार) पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।

हिम श्री फुड्सको मुख्य प्रायोजनामा सञ्चालन हुने प्रतियोगिताको मिति अखिल नेपाल फुटबल सङ्घले दिएका आधारमा आफूहरूले तयारी समेत सुरु गरेको क्लबका अध्यक्ष केशव बहादुर थापाले बताउनु भयो । प्रतियोगिताका संरक्षकमा पोखरा महानगरपालिका तथा सहयोगी संस्थाको रूपमा प्रदेश खेलकुद परिषद् गण्डकी लगायतका रहेका छन्।
आहा रारा गोल्डकपमा ए डिभिजन, विभागीय, आयोजक तथा अन्तर्राष्ट्रिय क्लब गरी १० टिमको सहभागिता रहने भएको छ । रजत वर्ष विशेष भएकाले यस पटक पोखरा महानगरसँग भगिनी–सम्बन्ध भएका विभिन्न देशका शहरका टिमलाई समेत निम्त्याउने सम्भावनाबारे छलफल भइरहेको अध्यक्ष थापाले बताउनुभयो । “आहा रारा गोल्डकप सहारा एकेडेमीमा आश्रित बालकका लागि निरन्तर चल्दै आएको सहयोग अभियान हो,” उहाँले भन्नुभयो, “यो वर्ष पनि सबैको सहयोग र सहकार्यका लागि अनुरोध गर्दछौँ।”
मुख्य प्रायोजक हिम श्री फुड्सका निर्देशक प्रकाश केसीले आफ्ना स्वर्गीय बुवासँग गोल्डकपको आत्मीय सम्बन्ध रहेकाले प्रायोजनको निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । पोखरा महानगरपालिका–९ का अध्यक्ष दिपेन्द्र मर्सानीले पोखराको नाम बेचेर स्वार्थ पूर्ति गर्ने प्रवृत्तिको आलोचना गर्दै गोल्डकपजस्ता प्रतिष्ठित कार्यक्रमले पोखराको पहिचान र गौरव बढाएको दाबी गर्नुभयो । महासचिव गंगाराज पौडेलले रजत वर्षको गोल्डकप भव्य रूपमा सफल बनाउन तयारी सुरु गरिएको बताउनुभयो ।
सहारा क्लबले गत कात्तिक १४ गते आयोजना गरेको च्यारिटी डिनर नाइटबाट १७ लाख ४१ हजार ६२६ रुपैयाँ बचत गर्न सफल भएको बरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर गुरुङले बताउनु भयो । उक्त कार्यक्रमबाट २४ लाख १९ हजार १ सय ७७ रुपैया आम्दानी भएको उहाँले जनाउनु भयो । कार्यक्रम सम्पन्न गर्न ६ लाख ७७ हजार ५ सय ५१ रुपैया खर्च भएको क्लबले जनाएको छ । अध्यक्ष थापाका अनुसार सो रकम सहारा एकेडेमीमा आश्रित विपन्न वर्गका बालकको शिक्षादिक्षा तथा हेरचाहमा खर्च गरिनेछ। हाल एकेडेमी सञ्चालनमा वार्षिक करिब ४२ लाख खर्च हुने र क्लबद्वारा स्थापना गरिएको अक्षयकोषमा ३ करोड ४७ लाख रुपैयाँ रहेको उहाँले जनाकारी गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्