लुम्बिनी प्रदेश सभाको सातौँ (हिउँदे) अधिवेशन आजदेखि सुरु
दाङ । लुम्बिनी प्रदेश सभाको सातौँ (हिउँदे) अधिवेशन आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ। अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे बस्नेछ।
प्रदेश सभा सचिव दुर्लभ कुमार पुनमगरका अनुसार पहिलो बैठकका लागि विस्तृत कार्यसूची तयार गरिएको छ। कार्यसूचीअनुसार सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त तीन वटा पत्र सदनमा प्रस्तुति गर्नेछन्। ती पत्रमा सातौँ अधिवेशन आह्वानसम्बन्धी सूचना, मन्त्रिपरिषद् पुनर्गठनबारे जानकारी तथा छैटौँ अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्र समावेश छन्।
बैठकमा सभामुखले सदस्यहरूको उपस्थिति–अनुपस्थितिको विवरण सार्वजनिक गर्नेछन्। त्यसपछि विभिन्न दलका तर्फबाट प्रदेश सभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने कार्यक्रम रहने सचिवालयले जनाएको छ।
यस अधिवेशनमा छलफलका लागि जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ संशोधन विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन, २०७६ संशोधन विधेयक दर्ता भइसकेका छन्।
यस्तै, प्रदेश मन्त्रिपरिषद्ले थप तीन विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति दिएको छ। तिनमा—
- लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक,
- प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक, र
- दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक
—समावेश छन्।
लुम्बिनी प्रदेश सभाको छैटौँ (वर्षे) अधिवेशन गत भदौ ३१ गते सम्पन्न भएको थियो।







प्रतिक्रिया राख्नुहोस्