२१ औँ लेखनाथ महोत्सव पुसको पहिलो साता हुने
पोखरा । लेखनाथ उद्योग वाणिज्य सङ्घले यस वर्ष पनि लेखनाथ महोत्सव आयोजना गर्ने भएको छ । सङ्घले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा २१औँ महोत्सव पुस ३ गतेदेखि १४ गतेसम्म पोखरा–२७ तालचोकमा हुने जानकारी गराएको हो ।

संघका अध्यक्ष तथा महोत्सवका मुख्य संयोजक जानुका पराजुली अधिकारीले २०५८ सालमा सुन्तला प्रदर्शनबाट सुरु भएको महोत्सवले लेखनाथ क्षेत्रको पहिचान, स्थानीय उत्पादनको प्रवर्द्धन र उद्यमशीलता विकासमा सहयोग पुर्याउँदै आएको बताउनुभयो ।
यस वर्ष करिब ३३५ स्टल रहने, २ लाख ५० हजारभन्दा बढी अवलोकनकर्ताको आगमन हुने अपेक्षा गरिएको छ । महोत्सवबाट करिब ९ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार र १० लाख रुपैयाँ बचत हुने अनुमान गरिएको छ ।
महोत्सवमा औद्योगिक व्यापार मेला, कृषि उत्पादन, महिला उद्यमी स्टल, फुड फेस्टिभल, अटो मोबाइल प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, टिकटक प्रतियोगिता, पप कन्सर्ट तथा हास्यव्यङ्ग्य स्टेज शो लगायतका आकर्षण रहनेछन् ।
प्रवेश शुल्क सर्वसाधारणका लागि रु १००, विद्यार्थीका लागि रु ५०, र बेलुका हुने कन्सर्टका लागि रु २०० कायम गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्