धान भित्र्याउन तथा गहुँ छर्ने तयारीमा व्यस्त पर्सा र बाराका किसान

वीरगञ्ज । पर्सा र बाराका किसानहरू अहिले धान बाली भित्र्याउन तथा गहुँ छर्ने तयारीमा जुटेका छन् ।
पर्सा जिल्लाको गण्डक नहरदेखि दक्षिणतर्फको क्षेत्रमा किसानहरू धान बाली भित्र्याउने क्रमसँगै गहुँ बाली लगाउने तयारी समेत एकसाथ गरिरहेका छन् । धान भित्र्याउने क्रममा किसानहरू खेतमा गहुँ छर्नका लागि आवश्यक मल र बीउको खोजीमा जुटेको पर्सा पोखरीया नगरपालिकाका किसान राजु रौनीयारले बताउनुभयो ।
धान बाली भित्र्याएसँगै गहुँ बालीका लागि स्थानीय सरकारले अनुदानमा बीउको व्यवस्था गर्ने भए पनि यसपालि समयमा मल र बिउ नपाउँदा किसानहरू चिन्तित भएको रौनियारले बताउनुभयो ।
धान बाली गरेर गहुँ बाली गर्ने किसानहरूका लागि उन्नत जातको बीउ र डिएपी मलका लागि अहिले छिमेकी भारतीय बजार धाउनुको विकल्प छैन । अहिले सस्तो वा महँगोमा बीउ र मल भारतीय बजारबाटै खरिद गर्नुपर्ने बाध्यता रहेको किसानहरूले बताएका छन् ।
पर्साको गण्डक नहरदेखि दक्षिणी भेगमा मुख्यतः धान बालीपछि गहुँ बाली लगाइने गरिन्छ । सिँचाइको पर्याप्त व्यवस्था नभएकोले यहाँ आलु, तोरी, मकै लगायतका अन्य बालीहरू लगाइँदैन । तर गण्डक नहरदेखि उत्तर थरुहट क्षेत्रमा भने गहुँ बालीका साथै अन्य बालीहरू समेत लगाइँदै आएको छ ।

पर्साको उत्तरी क्षेत्रका किसानहरूले धान भित्र्याएपछि मकै, तोरी, सुर्ती र आलु खेती गर्दछन् भने दक्षिणी क्षेत्रका किसानहरूले भने धान पछि गहुँ छर्दै आएका छन् ।
बिशेषगरी गहुँ छर्ने किसानहरू अहिले व्यस्त भएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ । धान बाली गरेका जिल्लाको उत्तरी क्षेत्रका किसानहरूले धान भित्र्याएर आलु, तोरी खेती गरिसकेका थिए । तर कात्तिक १२ मा आएको पानीले ती बाली नोक्सान भएकोले अहिले फेरी किसानहरू सोही खेतमा तोरी,आलु र मकै रोपेको ठोरी गाउँ पालिका वडा नम्बर ३ का अगुवा किसान किशोर तामाङले बताउनुभयो ।
पछिल्ला समयमा मजदुरको अभाव सुरु भएसँगै किसानहरूले धान भित्र्याउन तथा गहुँ छर्न समेत मेशिनको प्रयोग गर्दै आएका छन् ।
यान्त्रीकरणको कारण विगतको तुलनामा अहिले खेती गर्न सहज बन्दै गएको नेपाल किसान सङ्घका केन्द्रीय सदस्य प्रकाश खनालले बताउनुभयो ।
अहिले कृषिमा कम लगानी बढी उत्पादन नीति अवलम्बनका लागि सरकारले विभिन्न यान्त्रिक मेशिनहरूको प्रयोगमा सुविधा प्रदान गर्दै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्