मधेश प्रदेश: मतदाता नामावलीमा नाम समावेश गराउनेको सङ्ख्या उल्लेख्य
जनकपुरधाम । अगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका लागि मधेश प्रदेशबाट नयाँ मतदाताका लागि फोटो खिचाउनेको सङ्ख्या उल्लेख्य रहेको छ ।
मधेश प्रदेशको ८ जिल्लामा रहेको निर्वाचन कार्यालयमा अहिलेसम्म १ लाख १ सय ८५ जना नयाँ मतदाताले मतदाता परिचयपत्रका लागि फोटो खिचाएको मधेश प्रदेशको निर्वाचन कार्यालय जनकपुरधामका कम्प्युटर अधिकृत कृष्ण राउतले जानकारी दिनुभयो ।
धनुषा जिल्लामा मात्र १४ हजार १ सय २० जनाले मतदाता परिचयपत्रका लागि फोटो खिचाएका छन् जसमा ७ हजार ८ सय ८९ पुरुष तथा ६ हजार २ सय ३१ महिला रहेका छन् । यसै गरि राष्ट्रिय परिचयपत्रको आधारमा धनुषामा विवरण भर्नेहरूको सङ्ख्या २० हजार ८ सय ९९ रहेका छन् । यसमा विदेशमा रहेका युवाहरूको सङ्ख्या उल्लेख्य हुने अनुमान गरिइएको छ ।
यस कारणले अरू जिल्लामा पनि राष्ट्रिय परिचयपत्रको आधारमा फोटो खिचाउनेहरूको सङ्ख्या अझै १ लाख हुने अनुमान गर्न सकिन्छ । मधेश प्रदेशका ७ जिल्लामा रहेका निर्वाचन कार्यालयमा राष्ट्रिय परिचयपत्रको आधारमा फोटो खिचाउनेहरूको सङ्ख्यामा १ लाख १ सय ८५ मा समावेश नरहेकाले मधेश प्रदेशबाट अझै एक लाख मतदाता थपिएको अनुमान मधेश प्रदेशको कार्यालयले गरेको छ ।
अगामी फागुन २१ गतेको प्रतिनिधि सभा चुनावका लागि फोटो खिचाउने तथा राष्ट्रिय परिचयपत्रको आधारमा विवरण भर्नेमा अधिकांश युवा पुस्ताका मतदाताहरू रहेका छन् । विशेषगरी देश बाहिर रहेका व्यक्तिले राष्ट्रिय परिचयपत्रको आधारमा फोटो खिचाएका छन् ।
मधेश प्रदेश त्यसमा पनि धनुषा जिल्लाबाट ठूलो सङ्ख्याका युवाहरू वैदेशिक रोजगारीमा गएका कारणले विदेशबाट नै राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामावलीमा नाम समावेश गर्नका लागि विवरण भर्नेहरूको सङ्ख्या उल्लेख्य हुने अनुमान गरिइएको छ । राष्ट्रिय परिचयपत्रको आधारमा आवेदन गर्न पाउने सरकारको निर्णयलाई वैदेशिक रोजगारमा रहेका युवाहरूले स्वागत गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्