विवाह पञ्चमी अन्तर्गत धनुष यज्ञ सम्पन्न
जनकपुरधाम । जनकपुरधाममा जारी श्रीसीताराम विवाह पञ्चमी महामहोत्सवको तेस्रो दिन धनुष यज्ञ सम्पन्न भएको छ ।

तत्कालीन मिथिला नरेश राजर्षि जनकले जनकपुरधाममा आयोजना गर्नुभएको धनुष यज्ञमा सहभागी हुन अयोध्याका तत्कालीन राजा दशरथका ज्येष्ठ सुपुत्र भगवान् श्रीराम, लक्ष्मणसहित गुरु विश्वामित्रसँग जनकपुरधाम आउनुभएको स्मरणमा यस पटक पनि जनकपुरधामको बाह्र विघा रङ्गभूमि मैदानमा धनुष यज्ञ सम्पन्न भएको हो ।
धनुष यज्ञमा सहभागी हुन आउनुभएका राजा रजौटाहरूले भगवान् शिवको धनुष सामान्य रुपमा पनि हलाउन नसकेको बेलामा गुरु विश्वामित्रकै आदेशमा भगवान् श्रीरामले प्रत्यञ्चा चढाउँदा तीन टुक्रा भएको त्यस मध्येको एक आकाश, एक पताल तथा अर्को टुक्रा धनुषाको धनुषा धाममा खसेको बताइन्छ ।
सप्ताहव्यापी श्रीसीताराम विवाह पञ्चमी महामहोत्सव अन्तर्गत भोली मङ्सिर ७ गते आइतबार तीलकोत्सव, मङ्सिर ८ गते सोमवार मटकोर, मङ्सिर ९ मङ्गलवार स्वयंम्बर तथा शुभ विवाह तथा १० रामकलेवा रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्