तपाईँ सुन्दै हुनुहुन्छः

फोहरलाई मोहरमा परिणत गर्दै व्यास नगरपालिका

तनहुँ । जिल्लाको व्यास नगरपालिकाले नकुहिने फोहर बिक्रीबाट चालु आवको पहिलो चार महिनामा रु सात लाख आम्दानी गरेको छ । 

नगरपालिकाले प्लास्टिक, कपडा, फलाम र सिसाजन्य वस्तुको वर्गीकरण गरी गत वर्षदेखि बिक्री गर्न थालेको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिनुभयो । 

व्यास नगरपालिकाले दैनिक १५ टन नकुहिने र सात टन कुहिने फोहर सङ्कलन गर्दै आएको छ र कुहिने फोहरलाई गौ संरक्षण केन्द्रमा व्यवस्थापन गरिन्छ । 

पहिलो चरणमा नकुहिने फोहरलाई मोहरमा बदल्ने सोचसहित सूक्ष्म रूपमा वर्गीकरण गरी बिक्री गर्न थालेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले प्लास्टिक, कपडा, फलाम र सिसाजन्य वस्तु बिक्रीका लागि बोलपत्र आह्वान गरी बिक्री गर्न थालिएको नगरपालिकाको वन, वातावरण तथा सरसफाइ शाखाले जनाएको छ । 

कार्यालयका अनुसार आल्मुनियम प्रतिकेजी ६०, फलाम प्रतिकेजी ३५, टिन २५, पानीको बोतल तथा अन्य बोतल २३, कपडा पाँच रुपैयाँ ५० पैसा, कपी १६ र किताब १४ दररेट कायम गरिएको छ । 

नगरपालिकाले यसअघि वडा नं ३ मादी नदी किनारस्थित भतेरीमा नकुहिने फोहर व्यवस्थापन गर्दै आएको थियो । त्यस क्षेत्रको सम्झौता अवधि सकिएकाले अर्को व्यवस्था नहुँदासम्म कार्यालय परिसरबाटै फोहर व्यवस्थापन गर्न लागिएको हो । 

कुहिने फोहरलाई नगरले व्यास–१० स्थित गौ संरक्षण केन्द्र भतेरीमा व्यवस्थापन गर्दै आएको छ । नकुहिने फोहरको दिगो व्यवस्थापनका लागि वडा नं १३ मा जग्गा खरिद प्रक्रिया अगाडि बढाइएकामा त्यहाँ पनि स्थानीयले विरोध गरेकाले जग्गा खरिद प्रक्रिया हाललाई रोकिएको छ । 

नगरपालिकाले सरसफाइ क्षेत्रमा लाखौँ खर्च गर्दै आएकामा अब फोहरबाट राम्रो आम्दानी स्रोत बनाउन थालेको व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button