तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्ज भन्सारद्वारा चालु आर्थिक वर्षको ४ महिनामा ७५ अर्ब ५८ करोड ८५ लाख बढी राजश्व असुली

वीरगञ्ज । मुलुकको प्रमुख भन्सार नाकाको रुपमा रहेको बीरगंज भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०८२/०८३ को ४ महिनाको अवधिमा ७५ अर्ब ५८ करोड ८५ लाख १५ हजार रुपैयाँ राजस्व असुली गरेको छ । 

अर्थमन्त्रालय भन्सार विभागले वीरगन्ज भन्सार कार्यालय (आईसीपी) लाई ४ महिनाको लागी ८९ अर्ब २३ करोड ७९ लाख ५१ हजार राजस्व उठाउने लक्ष्य तोकेको भए पनि सो समयमा भएका विभिन्न आन्दोलन, बर्षायामको कारण भन्सार प्रभावित हुनुको साथै माल सामानको आयात समेत घटेको हुँदा लक्ष्य अनुसारको राजस्व असुली प्रभावित भएको वीरगन्ज भन्सार कार्यालय (आईसिपी) का प्रमुख भन्सार प्रशासक बिष्णु प्रसाद ज्ञवालीले जानकारी दिनुभयो । आईसिपी वीरगन्जले तोकिएको लक्ष्य भन्दा झण्डै १६ प्रतिशत कम राजस्व असुली गरेको छ । 

अर्थ मन्त्रालयले तोकेको लक्ष्य भन्दा साउन, भदौ, असोज र कार्तिक महिनामा १३ अर्ब ६४ करोड ९४ लाख ३६ हजार कम राजस्व असुली भएको बीरगंज भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।  देशकै दुई ठूला भन्सार कार्यालय वीरगन्ज भन्सार कार्यालय र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालय गाभिएको ४ महिनाको अवधिमा आईसिपी भन्सारले सो परिमाणमा राजश्व सङ्कलन गर्न सकेको प्रमुख भन्सार प्रशासक ज्ञवालीले बताउनुभयो । 

प्रमुख भन्सार प्रशासक ज्ञाबलीले पेट्रोलियम पदार्थको आयातमा कमी र वर्षायाम, डुबानको कारण पनि राजश्व असुली लक्ष्य भेट्टाउन नसकिएको बताउँदै गत आर्थिक वर्षको ४ महिनाको अवधिमा भन्दा भन्दा चालु आवको ४ महिनामा भने बढी राजश्व सङ्कलन गर्न सफलता मिलेको जानकारी दिनुभयो । गत आवको ४ महिनाको अवधिमा  यस भन्सारले ६६ अर्ब ७३ करोड १९ लाख १३ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको थियो । सो अवधिमा अर्थमन्त्रालय भन्सार विभागले ९० अर्ब ५ करोड २८ लाख ४६ हजार रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य तोकिएको थियो ।

चालु आर्थिक वर्ष ०८२/०८३ मा वीरगन्ज भन्सारलाई अर्थमन्त्रालयबाट  २ खर्ब ७३ अर्ब ३९ करोड ४८ लाख रुपैयाँ राजश्व सङ्कलनको लक्ष्य दिइएको वीरगन्ज भन्सारका प्रमुख भन्सार प्रशासक बिष्णु प्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button