चितवनमा एघार हजार ६०१ मतदाता थपिए
चितवन । चितवनमा हालसम्म ११ हजार ६०१ जना नयाँ मतदाता थपिएका छन् । थपिएका अधिकांश मतदाता युवापुस्ताका छन् । मतदाता नामावलीमा नाम दर्ता गर्ने समय सकिनै लाग्दा मतदाता बन्नेको चाप पनि बढेको छ ।
निर्वाचन कार्यालय भरतपुरका प्रमुख भीमसेन कार्कीका अनुसार असोज १० गतेदेखि निर्वाचन कार्यालयले नयाँ मतदाता नामावलीमा नाम दर्ता गर्न सुरु गरेको हो । पहिलो दिन असोज १० गते १४ जनाले मात्र नाम दर्ता गरेका थिए ।
‘मङ्गलबारसम्म ११ हजार ६०१ मतदाता थपिए, अब दुई दिन बाँकी छ, मङ्सिर ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिन्छ’, प्रमुख कार्कीले भन्नुभयो, ‘समय सकिनै लाग्दा अत्यधिक चाप बढी भयो, कार्यालयभित्र र बाहिर रहेर नामावलीमा नाम दर्ता गरायौँ ।’
जिल्ला निर्वाचन कार्यालय भरतपुरमा आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका निम्ति मतदाता नामावली सङ्कलनको काम भइरहेको हो ।
विसं २०७९ को निर्वाचनमा चितवनमा चार लाख २१ हजार ३९२ मतदाता थिए । ‘अहिले थपिएका मतदाताले १८ वर्ष उमेर पूरा गरेका छन् भने फागुनमा हुने निर्वाचनमा मत खसाल्न पाउँछन्’, प्रमुख कार्कीले भन्नुभयो, ‘मतदाता नामावलीमा नाम दर्ता गर्न आउनेको सङ्ख्या दिनमै दुई हजार हाराहारीमा रह्यो ।’
चितवनको मतदाता चार लाख ४० हजारसम्म पुग्ने प्रक्षेपण गरिएको छ । कार्कीले भन्नुभयो, ‘बाहिरी जिल्लाबाट पनि मतदाता नामावलीमा नाम दर्ता गर्ने क्रम छ, अन्तिम नामावली आएपछि बल्ल जम्मा मतदाताको सङ्ख्या भन्न सकिन्छ ।’
मङ्सिर ५ गते ४ बजेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने छ ।








प्रतिक्रिया राख्नुहोस्