मन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।
पूर्व राष्ट्रपति भण्डारीको बालुवाटारस्थित निवासमा सोमबार भएको भेटमा उहाँहरुबीच मुलुकको समसामयिक परिस्थितिबारे विचार विमर्ष भएको छ । भेटका क्रममा सञ्चारमन्त्री खरेलले सरकारले गरिरहेको काम, सरकारको प्राथमिकता, आगामी निर्वाचनको तयारीलगायत विषयमा पूर्व राष्ट्रपतिलाई जानकारी गराउनुभयो । मन्त्री खरेलले सरकारले निर्वाचनको माहोल बनाइरहेको र निर्धारित मिति (फागुन २१ गते) मै निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक तयारी गरिरहेको अवगत गराउनुभयो ।
सञ्चारमन्त्री खरेलले आगामी निर्वाचनका लागि सबै राजनीतिक दलहरू सकारात्मक रहेको र केही दलले निर्वाचनका लागि शान्ति सुरक्षाको वातावरणका लागि चासो देखाएअनुरूप सरकारले निर्वाचनको सुरक्षालगायत सबैखाले तयारी गरिरहेको पूर्व राष्ट्रपति भण्डारीलाई जानकारी गराउनुभयो । उहाँले जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारले निर्वाचन सम्पन्न गर्ने, सुशासन प्रवद्र्धन, रोजगारी सिर्जना, नवप्रवर्तनलगायतका कामलाई प्राथमिकताकासाथ अगाडि बढाएको उल्लेख गर्नुभयो ।
त्यसक्रममा पूर्वराष्ट्रपति भण्डारीले निर्वाचन नै अहिलेको उपयुक्त विकल्प भएकाले मुलुक निर्वाचनको माहोलमा रहेको उल्लेख गर्नुभयो । उहाँले निर्वाचन नै अहिलेको उत्तम विकल्प भएकाले सबै राजनीतिक दलहरू निर्वाचनमा सहभागी हुनुपर्ने र निर्वाचनका लागि सरकारले वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो,“निर्वाचन नै अहिलेको निकासको सही बाटो हो, यसका लागि सरकारले सोही अनुसारको माहोल बनाउनुपर्छ र निर्वाचनमा सबै दलहरू सहभागी हुनुपर्छ ।”
सरकारले आगामी फागुन २१ को निर्वाचनको वातावरण बनाउन विभिन्न पक्षहरूसँग संवाद तीव्र रुपमा अघि बढाएको छ ।








प्रतिक्रिया राख्नुहोस्