तपाईँ सुन्दै हुनुहुन्छः

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा मतदानस्थलको अनुगमन तीव्र

बाँके । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा बाँकेमा सुरक्षा निकायहरूले जिल्लाभरि रहेका मतदानस्थल तथा मतदान केन्द्रहरूको स्थलगत अनुगमनलाई तीव्र गतिमा अघि बढाएका छन्। निर्वाचनलाई शान्त, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न उद्देश्यसहित यो प्रक्रिया सुरु गरिएको हो।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार मतदानस्थल र केन्द्रहरूको वास्तविक अवस्था बुझ्न, आवश्यक सुरक्षा रणनीति तयार पार्न तथा संवेदनशीलता मूल्याङ्कन गर्न स्थलगत अनुगमन गरिएको हो। 

उहाँका अनुसार निर्वाचन सुरक्षाका लागि खटिनुपर्ने सुरक्षाकर्मीको सङ्ख्या, आवश्यक भौतिक पूर्वाधार तथा जोखिम स्तरको मूल्याङ्कनका आधारमा योजना तयार गर्न अनुगमन महत्वपूर्ण हुने छ। हालसम्म नरैनापुर, राप्ती सोनारी, खजुरा र डुडुवा गाउँपालिकाका विभिन्न मतदानस्थल तथा मतदान केन्द्रको निरीक्षण भइसकेको र अनुगमन प्रक्रिया जारी रहेको उहाँले जानकारी दिनुभयो।

अनुगमन तथा अध्ययनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा विशेष कार्यदल गठन गरिएको छ। कार्यदलको प्रतिवेदनको आधारमा जिल्लाभरका मतदान स्थलहरूको सुरक्षा रणनीति तथा विस्तृत योजना तयार गरिने प्रजिअ तामाङले बताउनुभयो।

बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) अङ्गुर जिसीले निर्वाचन सुरक्षाका लागि प्रहरी, प्रशासन, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरू संयुक्त रूपमा फिल्डमा खटिएको बताउनुभयो।

स्थलगत अनुगमन टोलीमा प्रजिअ तामाङ, प्रहरी प्रमुख एसपी अङ्गुर जिसी, राष्ट्रिय अनुसन्धानका बाँके प्रमुख हरिस बिष्ट तथा सशस्त्र प्रहरी उपरीक्षक शोभाकान्त खनालको सहभागिता रहेको छ।

निर्वाचन आयोगका अनुसार बाँकेमा १३८ मतदान स्थल र ३८० मतदान केन्द्र निर्धारण गरिएको छ। जिल्लाभरि भइरहेको यो सक्रिय अनुगमनले आगामी निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास जिल्ला प्रशासनले व्यक्त गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button