तपाईँ सुन्दै हुनुहुन्छः

‘मर्यादाका लागि महिला आवाज’ को स्थापना

बाँके । बादी समुदायको समग्र विकास, हक–अधिकार संरक्षण र महिलाको सशक्तीकरणलाई प्राथमिकताका साथ अघि बढाउने उद्देश्यले ‘मर्यादाका लागि महिला आवाज’ नामक संस्था बाँकेमा औपचारिक रूपमा स्थापना भएको छ। नेपालगन्ज उपमहानगरपालिकामा कार्यालय सञ्चालन गर्दै संस्थाले आजदेखि नियमित कार्यक्रमहरूको थालनी गरेको हो।

जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले एक विशेष समारोहका बीच संस्थाको उद्घाटन गर्दै बादी समुदाय विशेष गरी महिलालाई लक्षित गरी काम थाल्नु प्रशंसनीय कदम भएको टिप्पणी गर्नुभयो । उहाँले “बादी महिलाहरू अझै पनि शिक्षा, पहिचान, स्वास्थ्य र सम्मानजनक जीवनको अधिकारबाट पछि पर्नु दुःखद विषय हो। यस्तो अवस्थाको अन्त्यका लागि संस्थाको भूमिका महत्त्वपूर्ण रहनेछ,” भन्दै आवश्यक सहयोगका लागि प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उद्घाटनसँगै ‘बादी समुदायको अवस्था, समस्या, सम्भावना र सरोकारवालाको भूमिका’ विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले गहिरो चासो र सुझाव व्यक्त गरेका थिए । कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष बसन्ती नेपालीले गर्नुभएको थियो ।

नेपालगन्ज उपमहानगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख पवित्रा पुरीले संस्थाले सुरु गरेको अभियानले लक्षित वर्गको जीवनस्तरमा देखिने परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो । जिल्ला प्रहरी कार्यालय महिला सेलकी चन्द्रिका खनालले बादी महिलाको सुरक्षाका विषयमा संवेदनशील भएर काम गर्न प्रहरी तत्पर रहने जिकिर गर्नुभयो ।

खुला छलफल सत्रमा विभिन्न संघ–संस्था, अभियानकर्मी तथा पत्रकारहरूले बादी समुदायका समस्या, पहिचानको चुनौती, शिक्षामा पहुँच, सुरक्षित आवास, रोजगारी र महिला सशक्तीकरणका पक्षमा रणनीतिगत कार्यक्रम अघि बढाउन सुझाव दिएका थिए ।

अन्तरक्रियाको सहजीकरण बास नेपालका निर्देशक हेमराज भट्टले गर्नुभएको थियो भने कार्यक्रम ३३ जना सरोकारवालाको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button