तपाईँ सुन्दै हुनुहुन्छः

परीक्षा रद्द भएपछि परीक्षार्थी आक्रोशित 

मकवानपुर । हेटौँडा–६ स्थित नेपाल–भारत मैत्री बहु प्राविधिक शिक्षालयमा आइतबार सञ्चालन भएको परीक्षा पुरानो प्रश्नपत्र वितरण भएपछि रद्द गरिएको छ। CTEVT अन्तर्गत सञ्चालन हुने उक्त परीक्षामा केन्द्राध्यक्ष र बाह्य सहायकको लापरवाहीका कारण विद्यार्थीले पूरा समय परीक्षा दिएपछि मात्र रद्द गरिएको जानकारी पाए, जसका कारण उनीहरू आक्रोशित बनेका छन्।

परीक्षा किन रद्द भयो भन्ने स्पष्ट जानकारी नपाएको भन्दै विद्यार्थीहरूले परीक्षा केन्द्र परिसरमै नाराबाजी गर्दै परीक्षालाई मान्यता दिनुपर्ने माग राखेका छन्। यस परीक्षामा मधेस प्रदेशबाट आएका विद्यार्थीहरू पनि सहभागी थिए।

घटनाबारे केन्द्राध्यक्ष भुवनेश्वर रञ्जितकार र बाह्य सुपरिवेक्षक शङ्कर खतिवडामाथि छानबिन भइरहेको CTEVT हेटौँडा प्रदेश कार्यालयका प्रमुख हर्कलाल श्रेष्ठले बताए। यस विषयमा जिल्ला परीक्षा समन्वय समितिको बैठक बस्ने छ।

पुरानो प्रश्नपत्र वितरण भएपछि फिजियोथेरापी, इन्भाइरमेन्टल हेल्थ, प्लान्ट साइन्स, प्रि–डिप्लोमा जेटिए एपिसरी कल्चर तथा भेटनरीसहितका ७९ जना परीक्षार्थी सहभागी भएका परीक्षा रद्द गरिएका छन्। विद्यार्थीहरूले विद्यालयका सूचना अधिकारीले स्पष्ट धारणा नदिएको भन्दै थप असन्तोष व्यक्त गरेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button