मन्त्री घिसिङद्वारा बाग्मती ‘करिडोर’ क्षेत्रको ढल व्यवस्थापन र सडक स्तरोन्नतिबारे निरीक्षण
काठमाडौँ । सहरी विकास मन्त्री कुलमान घिसिङले काठमाडौँको पूर्वी क्षेत्रस्थित बाग्मती नदी करिडोर क्षेत्रको फोहर मैला व्यवस्थापन र सडक मर्मतबारे निरीक्षण गर्नुभएको छ ।
आज उहाँको नेतृत्वमा सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव केशव शर्मा, गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक रिसाललगायतले गुहेश्वरीदेखि सुन्दरीजल क्षेत्रसम्मको नदी करिडोर र सडक स्तरोन्नतिबारे जानकारी लिनुभएको हो ।
मन्त्री घिसिङले बाग्मती नदी करिडोरमा देखिएको ढल व्यवस्थापन र सडक स्तरोन्नतिको समस्या तत्काल समाधान गरिने बताउनुभयो । उहाँले काठमाडौँ उपत्यकाका नदी करिडोर क्षेत्रमा सडक विभाग, काठमाडौँ उपत्यकाका विकास प्राधिकरण र अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिबीच सडक निर्माण तथा मर्मत सम्भारमा देखिएको समन्वयको समस्यालाई छिट्टै समाधान गरिने प्रतिबद्धता जनाउनुभयो ।
मन्त्री घिसिङले भन्नुभयो, “काठमाडौँ उपत्यकाका नदीलाई सफा बनाए मात्र सहर सफा हुन्छ । त्यसैले दीर्घकालीन रूपमा ढल व्यवस्थापन योजनासहित काम गरिरहेका छौँ । ढल व्यवस्थापनका लागि प्रशोधन केन्द्रको स्थापना चरणबद्ध रूपमा गरिरहेका छौँ, नदी करिडोरका सडकलाई कालोपत्र, मर्मत सम्भार गर्नेलगायत कामलाई उच्च प्राथमिकता राखेर अगाडि बढाइएको छ ।”
चाबहिल—सुन्दरीजल सडक बिस्तारका लागि बाँकी पुलको निर्माण तत्काल अगाडि बढाउन उहाँले आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्