तपाईँ सुन्दै हुनुहुन्छः

‘पोखरा इन्डुरो रेस’ मा नेपालका भण्डारी मास्टर्स ए विधामा प्रथम

पोखरा । अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ मा नेपालका राजन भण्डारी मास्टर्स ए विधामा प्रथम हुन सफल हुनुभएको छ । पोखरा महानगरपालिका–१३ को आर्बा विजय डाँडामा तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा आठ देशका खेलाडीलाई पछि पार्दै नेपालका भण्डारीले उक्त विधाको उपाधि जित्नुभएको हो ।

३० देखि ३९ वर्ष सम्मका मास्टर्स ‘ए’ विधामा भण्डारीले निर्धारित दूरी १४ मिनेट ५ मिलि सेकेण्डमा पार गरी प्रथम स्थान हासिल गर्न सफल हुनुभएको हो । त्यस्तै अस्ट्रेलियाका स्टेफन विलियम्स दोस्रो हुँदा नेपालकै मुनेश घले तेस्रो हुन सफल हुनुभयो । विलियम्सले निर्धारित दूरी १५ मिनेट ५९ सेकेन्ड ८१ मिलिसेकेन्डमा पार गर्दा घलेले १६ मिनेट २६ सेकेन्ड ५२ मीलि सेकेन्डमा पार गर्नुभयो ।

त्यसै गरी मास्टर्स ‘बी’ तर्फ पनि नेपालकै शक्ति गुन्सेकर प्रथम हुन सफल हुनुभयो । उहाँले निर्धारित दूरी १६ मिनेट १७ सेकेन्ड ३७ मिलिसेकेन्डमा पार गर्न सफल हुँदा सोही दूरी नेपालकै रवि कार्कीले १६ मिनेट ५० सेकेन्ड ४६ मिलिसेकेन्डमा पार गर्दै दोस्रो हुनुभयो । १७ मिनेट ३० सेकेन्ड ३७ मिलिसेकेन्डमा उक्त दूरी पार गर्दै नेपालकै प्रयास तामाङ तेस्रो हुनुभयो । त्यस्तै जुनियर तर्फको विधामा प्रसन्न महर्जन प्रथम, दिप्सन थापा दोस्रो र स्वप्निल रायमाझी तेस्रो हुनुभयो । पर्सनले निर्धारित दूरी १५ मिनेट ४९ः२० सेकेन्डमा पार गर्दा दिप्सनले १५ मिनेट ५०ः३५ सेकेन्डमा पार गर्नुभयो । त्यस्तै स्वप्निलले भने उक्त दूरी १६ मिनेट ५८ः८५ सेकेन्डमा पार गर्नुभयो ।

इलिटतर्फको विधामा भने हिकमत बिक प्रथम हुन सफल हुनुभयो । उहाँले निर्धारित दूरी १३ मिनेट ९ः७४ सेकेन्डमा पार गर्नुभयो । त्यस्तै यस विधामा तेन्जिङ गुरुङ दोस्रो र अनिल बिक तेस्रो हुन सफल हुनुभयो । तेन्जिङले १३ मिनेट ५८ सेकेन्ड ५६ मिलिसेकेन्डमा उक्त दूरी पार गर्दा अनिलले १४ मिनेट २९ सेकेन्ड १६ मिलिसेकेन्डमा पार गर्नुभयो । त्यस्तै ५० वर्षमाथिका भेट्रान्स विधामा भने थाइल्यान्डका मार्क डटी प्रथम हुन सफल भए हुनुभयो । दोस्रो र तेस्रो नेपालका क्रमश मिङ्गुर दोर्जे शेर्पा र अनिल बास्कोटा हुनु भयो । थाइल्यान्डका मार्कले निर्धारित दूरी १३ मिनेट ५५ः१८ सेकेन्डमा पार गर्दा शेर्पाले १७ः७५ सेकेन्डमा पार गर्नुभयो । बास्कोटाले १८ मिनेट ५६ः१८ सेकेन्डमा पार गर्नुभयो ।

प्रतियोगितामा जर्मनी, सिंगापुर, अस्ट्रेलिया, युके, श्रीलङ्का, ओमन, अमेरिका र नेपाल गरी ८ देशका ४५ खेलाडी सहभागी हुनु भएको थियो । सबै खेलाडीलाई छ वटै ट्रेलमा खेलाइएको प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले जानकारी दिनुभयो । प्रतियोगिता छ वटा ट्रेल कुल ५ किलोमिटर ३६३ मिटर दूरीका साथमा छ वटा विधामा खेलाइएको हो । त्यस्तै खुला महिलातर्फको विधामा लक्ष्मी मगर प्रथम र कृपा डङ्गोल दोस्रो हुन सफल हुनुभयो । लक्ष्मीले निर्धारित दूरी २० मिनेट १ः८० सेकेन्डमा पार गर्नुभयो भने कृपा डङ्गोलले २० मिनेट १५ः४० सेकेन्डमा पार गर्नुभयो ।

समुन्द्री सतहबाट १ हजार ३ सय ६० मिटर उचाँईमा रहेको आर्वा–विजय डाँडामा आयोजक डन टिल डस्कले सन् २०२० देखि तयारी गर्दै उक्त क्षेत्रमा संरचना बनाइरहेको छ । यस अघि २०८० र २०८१ सालमा प्रतियोगिता सम्पन्न भइसकेको छ । यो इन्डुरो प्रतियोगिताले विश्वभर ठुलो सङ्ख्यामा रहेका माउन्टेन बाइक प्रेमी आकर्षित भई नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने आयोजकले अपेक्षा गरेका छन् । पोखरा १३ को साहसिक खेलको प्रबद्र्धन गर्न उक्त प्रतियोगितालाई वडाले हरेक बर्ष सहयोग गर्ने पोखरा १३ का वडा अध्यक्ष किरण बरालले बताउनुभयो । पोखरामा साहसिक खेलकुदको धेरै सम्भावना रहेको पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदरले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button