‘वर्तमान सङ्कटपूर्ण अवस्थामा संसद्को भूमिकालाई थप प्रभावकारी बनाउनुपर्छ’
काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले वर्तमान सङ्कटको घडीमा संसद्को भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने कुरामा जोड दिनुभएको छ।

नेपाल जेसिजको आयोजनामा परासीमा शुरु भएको १८औँ लेडी एकेडेमीको शनिवार उद्घाटन गर्दै उपाध्यक्ष घिमिरेले मुलुकमा संविधान अनुरुप सरकार सञ्चालन गर्दै लोकतान्त्रिक अभ्यासलाई मजबुत पार्नका लागि संसद्को भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने कुरामा जोड दिनुभएको हो।
उहाँले संविधानले निर्देश गरेको मार्गअनुसार विधायिका, कार्यपालिका र न्यायपालिकाबिचको सन्तुलन कायम गर्दै राज्य सञ्चालन गर्न आव्हान पनि गर्नुभएको छ।
नेपाल अहिले सामाजिक, आर्थिक र राजनीतिक सङ्क्रमणको संवेदनशील चरणमा रहेको चर्चा गर्दै उपाध्यक्ष घिमिरेले यस्तो अवस्थामा, युवापुस्ता विशेष गरी युवा र महिलाहरूको भूमिका अत्यन्तै निर्णायक हुने भएकाले आफ्नो समाजमा नयाँ चेतना ल्याउने, असमानता मेटाउने र आत्मनिर्भर राष्ट्र बनाउने अग्रदूत बन्न आग्रह गर्नुभयो।
उपाध्यक्ष घिमिरेले सहभागी महिलाहरूलाई नेतृत्व आफैभित्र हुने भएकाले अवसर पर्खेर भन्दा पनि सिर्जना गर्न सक्ने आत्मविश्वास विकास गर्न आग्रह गर्नुभयो।








प्रतिक्रिया राख्नुहोस्