तपाईँ सुन्दै हुनुहुन्छः

बेमौसमी वर्षा र डुबानले तोरी बालीमा क्षति, किसानहरूमा उत्पादन घट्ने चिन्ता

वीरगञ्ज । तोरी छरेसँगै लगातार परेको बेमौसमी वर्षा र डुबानले तोरी राम्रोसँग नउम्रिँदा उत्पादन घट्ने चिन्ताले पर्सामा तोरी खेती गर्ने किसानहरु पिरोलिएका छन् । 

खेत खनजोत गरेर तोरी छरेपछि परेको बर्षाका कारण तोरी हबका रूपमा परिचित ठोरी गाउँपालिकामा पुनः तोरी छर्ने कि त्यतिकै रहन दिने भन्ने द्विविधा भएको अगुवा किसान प्रकाश खनालले बताउनुभयो । कार्तिक १२,१३, र १४ गते परेको बेमौसमी बर्षाको कारण तोरीका बिरुवा उम्रिएका भएपनि फस्टाउन नसक्दा के गर्ने भनेर आफूहरू समस्यामा परेको खनालले गुनासो गर्नुभयो । फेरि तोरी छर्न दोहोरो खर्च गर्नुपर्ने भएकोले जतिसुकै फले पनि आफूले अब तोरी नछर्ने निर्णय गरेको अर्का किसान राजेश खड्काले बताउनुभयो । 

तोरी खेत जोतेर फेरि छरौँ, हुस्सुका कारण उब्जनी नहोला भन्ने डर मान्दै खड्काले भन्नुभयो–“तोरी नछरौँ कम उत्पादन हुने भन्ने चिन्ता, फेरि छरौँ उब्जनी राम्रो हुने ग्यारेन्टी नै भएन ।”

बर्षाले खेतमा तोरी कक्रक्क परेर बसेका कारण उत्पादन कस्तो हुन्छ भन्नेमा किसानहरू अलमलमा परेका छन् । कतिपय किसानले उत्पादनमा कमी हुने भएपनि ठूलो असर नपर्ने बताउँछन् भने कतिपयले बिरुवा होचो भएर उत्पादन नै नहुने हो कि भनी चिन्ता व्यक्त गरेका छन् । करिब दुई दशक अघि पनि तोरी छरेर ठुलै पानी परेको सम्झिँदै ठोरी गाउँपालिका वडा नम्बर ३ का पूर्व अध्यक्ष किशोर तामाङले त्यति बेला तोरीको उत्पादन खासै नघटेको बताउनुभयो । उहाँले यसपटक पनि तोरीका बिरुवा होचा हुने भएपनि उत्पादन भने खासै नघट्ने आशामा रहेको बताउनुभयो ।  

यता बर्षाको कारण खेतमा उम्रिएका तोरीका बिरुवा बढ्ने छाँटकाँट नदेखिएपछि कतिपय किसानले तोरी लगाएको खेत नै जोत्न थालेका छन् । अघिल्लो पटक छरेको तोरी राम्रोसँग फस्टाउन नसक्ने देखेपछि फेरि तोरी छर्न लागेको ठोरी गाउँपालिका वडा नम्बर ४ का किसान हरि बहादुर श्रेष्ठले बताउनु भयो ।  

कात्तिक मसान्त सम्म पनि खेतको चिस्यान अझै घटेको छैन । कात्तिक अन्तिम तथा मङ्सिर पहिले सातामा छरेको तोरीलाई शीतलहर र हुस्सुले समस्यामा पार्ने भएकोले तोरीको उत्पादन राम्रो नहुने अधिकांश किसानको बुझाइ छ । पर्याप्त सिँचाइको अभाव र जङ्गली जनावरको आतङ्कका कारण तोरीको विकल्प गहुँ भएपनि यस क्षेत्रका किसानले गहुँ खेतीमा रुचि देखाएका छैनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button