कोल्टीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ४ हजार बढिले पाए सेवा
बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका आयोजना तथा एक एक पाइला नेपालको सहयोगमा कोल्टी आधारभूत अस्पताल कोल्टीमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा कुल ४हजार २सय१९ जनाले सेवा लिनुभएको छ।
विशेषज्ञ चिकित्सकहरूको सहभागिता शिविरमा १सय ४३ जनाको आँखा (मोतीबिन्दु) शल्यक्रिया,१९ जनाको नाक, कान र घाँटीको अपरेसन तथा १ सय ८० जनामा हड्डी खिएको र जाली प्वाल परेको समस्याको उपचार गरिएको थियो। शिविरमा बालरोग, स्त्री तथा प्रसूति, छाला, दाँत, रेडियोलोजी, प्याथोलोजी, इन्डोस्कोपी र सामान्य शल्यक्रिया लगायत विभिन्न सेवा प्रदान गरिएको कोल्टी आधारभूत अस्पतालले जनाएको छ।
निःशुल्क स्वास्थ्य शिविरका कारण बाजुरा, हुम्ला, मुगु र कालिकोटका नागरिकले लाखौँ रुपैयाँ खर्च बचत गर्दै आफ्नै जिल्लामै विशेषज्ञ सेवा पाएकोमा स्थानीयले खुशी ब्यक्त गर्नुभएको छ। दुर्गम क्षेत्रमा आयोजित यस प्रकारको शिविरले नागरिकमा उपचारप्रति विश्वास बढाएको र गुणस्तरीय सेवा पहुँचमा महत्वपूर्ण योगदान पुर्याएको स्थानीय खम्बिर विकले बताउनुभयो ।
आर्थिक विपन्नता र भौगोलिक विकटताले गुणस्तरीय स्वास्थ्य सेवा पाउन बाट वञ्चित नागरिकको सहजताका लागि नगरपालिकाले बर्सेनि यस्ता निःशुल्क शिविर सञ्चालनमा ल्याइरहेको नगर प्रमुख जनक कुमार बोहराले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्