धानको उचित मूल्य नपाउँदा रौतहटका किसान निराश
रौतहट । धानको उचित मूल्य नपाउँदा रौतहटका किसान निराशा बनेको छ । झण्डै ६ महिना मेहनत गरेर उत्पादन गरिएको मुख्य आम्दानीको स्रोत बर्खे धानको न्यूनतम समर्थन मूल्य सरकारले तोके पनि व्यवहारमा त्यही मूल्य पाउन नसकिएको किसानहरूको गुनासो छ ।
चन्द्रपुर, वृन्दावन, मौलापुर, फतुवा विजयपुर, कटहरिया, गौर लगायतका क्षेत्रका किसानहरूले व्यापारीहरूले सरकारले तोकेको मूल्यमा धान किन्न नमान्ने गुनासो गर्नुभएको छ ।
मौलापुर–७ का किसान रामजनक रायले व्यापारीहरूले आफूखुसी मूल्य तोकेर धान खरिदमा एकाधिकार जमाइने गरेको बताउनुभयो । “सरकारले मूल्य त तोकिदिन्छ, तर बजारमा व्यापारीहरूले त्यो दरमा धान किन्न मान्दैनन्,” उहाँले भन्नुभयो ।
फतुवा विजयपुर–५ का किसान मिथिलेश साहले पनि सोही गुनासो दोहो¥याउँदै व्यापारीले बढीमा ३ हजार ४ सय रुपैयाँभन्दा माथिको दर नदिने गरेको बताउनुभयो । आफ्नो घरखर्च र गहुँ, मकैखेतीको तयारीका लागि रकमको जोहो गर्न किसान बाध्य भएर व्यापारीले तोकेको मूल्यमै धान बेच्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।
गत साउनमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार प्रतिक्विन्टल मोटा धान ३,४६३ रुपैयाँ ८१ पैसा र मध्यम धान ३,६२८ रुपैयाँ ३३ पैसा न्यूनतम समर्थन मूल्य तोकिएको छ । तर रौतहटका किसानले बजारमा सो दर कार्यान्वयन हुन नसकेकामा चिन्ता व्यक्त गरेका छन् ।
आर्थिक रूपमा कमजोर साना किसानलाई गहुँखेतीको तयारी, बीउ–मलको व्यवस्था तथा खेत जोत्न आवश्यक रकम जुटाउन अहिले धान बेच्नुपर्ने बाध्यता रहेको किसानहरूको भनाइ छ । सरकारले समयमै न्यूनतम समर्थन मूल्य तोक्दा केही राहत हुने भए पनि निजी क्षेत्रका व्यापारीहरूले सो मूल्य नदिने गरेको अनुभव किसानहरूले साझा दुःखका रूपमा राखेका छन् । वृन्दावन–१ का किसान रवीन्द्र पटेलले एक बिघाको धान भित्र्याइसकेको र उचित मूल्य नपाउँदा बिक्री नगरेको बताउनुभयो । उहाँले धानको मूल्य नबढेसम्म धान बिक्री नगर्ने समेत बताउनुभयो । ।
रौतहटका धान खरिद गर्ने स्थानीय व्यापारी राम एकवाल साहका अनुसार प्रतिक्विन्टल मोटो धान २६ सयदेखि २७ सम्म खरिद बिक्री भइरहेको छ भने पातलो धान ३३ देखि ३४ सय प्रतिक्विन्टल बिक्री वितरण भइरहेको बताउनुभयो ।
धानको मूल्य नपाउँदा किसान धान भित्र्याएर घरमै थुपारिएर राख्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्