तपाईँ सुन्दै हुनुहुन्छः

आज सबै जिल्लामा जनसभा गर्दै एमाले

काठमाडौं । नेकपा (एमाले)ले जनपरिचालन अभियान अन्तर्गत आज देशका सबै ७७ जिल्लामा जनसभा गरिरहेको छ। अभियानअनुसार सबै जिल्लाका सदरमुकाम वा प्रमुख शहरमा आयोजना हुने कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरू सहभागी हुनेछन्।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार जनसभा संयोजनका लागि सबै केन्द्रीय सदस्यलाई जिल्लामा खटाइएको छ, साथै जिल्ला इन्चार्जहरूलाई पनि आ–आफ्नो क्षेत्रमा सक्रिय रहन निर्देशन दिइएको छ।

कार्यक्रमअनुसार महासचिव शंकर पोखरेल नेपालगञ्जमा, उपमहासचिव प्रदीप ज्ञवाली गुल्मीमा र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङमा सभालाई सम्बोधन गर्नुहुनेछ। त्यस्तै, सचिव छविलाल विश्वकर्मा रुपन्देहीमा तथा सचिव पद्मा अर्याल बिर्तामोडमा सहभागी हुने कार्यक्रम छ।

एमालेले जनसभामा संसद् पुनःस्थापनाको आवश्यकता, जेनजी प्रदर्शनका क्रममा भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिन तथा आन्दोलनका क्रममा भएका तोडफोड, लुटपाट र आगजनीमा संलग्नमाथि कानुनी कारबाहीको आवश्यकता उठाउने जनाएको छ।

यसअघि पार्टीले कात्तिक २२ गते वडा भेला सम्पन्न गरेको र कात्तिक २५ गते देशभरका स्थानीय तहमा प्रदर्शन तथा र्‍याली सञ्चालन गरेको थियो। जनपरिचालन कार्यक्रमकै निरन्तरतामा मंसिर ६ गते काठमाडौंमा विशेष जनसभा आयोजना गरिने जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button