तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा सडक दौडमा १ हजार २ सय धावक सहभागी हुने

पोखरा । पोखरामा भोलि (शनिबार) हुने खुल्ला १० किलोमिटर सडक दौड प्रतियोगितामा १ हजार २ सय जना धावक सहभागी हुने भएका छन् । कास्की जिल्ला एथलेटिक्स सङ्घले पोखरामा पहिलो पटक यही कार्तिक २९ गते (शनिबार)आयोजना गर्न लागेको ‘एक्सट्रिम एनर्जी ड्रिङ्क्स पोखरा १० के रेस’ को तयारी पूरा भएको सङ्घले जनाएको छ ।

पोखरा रङ्गशालाबाट शनिबार बिहान ७ः०० बजे सुरु हुने दौडमा १० किमीतर्फ ४६२ जनाले सहभागिता जनाउने भएका छन् । जसमध्ये पुरुष ४१० र महिलातर्फ ५२ जना रहेको कास्की एथलेटिक्सका सचिव सिद्धान्त अधिकारीले बताउनुभयो । त्यस्तै विद्यालय स्तरीय ५ किमी दौड छात्र/छात्रातर्फ कुल ७३८ जनाको सहभागिता रहने भएका छन् भने छात्रतर्फ ४८२ जना र छात्रातर्फ २५६ जनाको सहभागी हुने भएको अधिकारीले जनाउनुभयो ।

एथलेटिक्स खेलको विकास र प्रवद्र्धन पहिलो पटक आयोजना गरिएको पोखरा १० के रेसमा उत्साहजनक रूपमा खेलाडीले देशभरबाट आफ्नो नाम दर्ता गरेको कास्की एथलेटिक्सका अध्यक्ष गज बहादुर गुरुङले बताउनुभयो । 

१० किमी दौड पहिलो हुने देखि लिएर पाँचौँ स्थानसम्म प्राप्त गर्ने महिला/पुरुषतर्फ समान नगद क्रमशः प्रथम, दोस्रो, तेस्रो, चौथो, पाचौलाई २०, १५, १०, ७ र ५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । विद्यालय छात्र/छात्रा दौडतर्फ क्रमशः पहिलो देखि पाँचौँ स्थान सम्मका लागि १०, ७, ५, ३ र २ हजार नगद प्रदान गरिने छ ।

त्यस्तै टप २५ जना फिनिसरलाई गिफ्ट ह्याम्परको समेत व्यवस्था आयोजकले गरेको छ भने १० के दौड फिनिसरलाई मेडल प्रदान गरिने छ । प्रतियोगितालाई प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगर पालिका र एक्सट्रिम एनर्जी ड्रिङ्कले सहकार्य गरेको आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब १५ लाख खर्च लाग्ने सङ्घले जनाएको छ ।  

त्यसै गरी प्रतियोगितामा १० किलोमिटर सडक दौड तर्फ महिला तथा पुरुष उत्कृष्ट ३ जना खेलाडीहरूलाई पोखरा च्याम्पियन घोषणा सहित प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार सहित गिफ्ट ह्याम्पर प्रदान गरिने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button