राष्ट्रिय परिचयपत्र बनाउनेको धनुषामा भिड, थप २ काउन्टर सञ्चालनमा
जनकपुरधाम । युवा पुस्ताका आन्दोलनका कारणले केही दिनसम्म बन्द रहेको जिल्ला प्रशासन कार्यालय धनुषामा रहेको राष्ट्रिय परिचयपत्रको सेवा लिनेहरूको सङ्ख्यामा उल्लेख्य रुपमा वृद्धि भएको छ ।

अहिले दैनिक रुपमा ५ वटा काउन्टर सञ्चालन गरेर बिहान देखि बेलुका ६ बजेसम्म राष्ट्रिय परिचयपत्रको सेवा दिने काम भइरहेकोमा सेवाग्राहीको चापलाई मध्यनजर गरेर आज देखि थप दुई वटा काउन्टर सञ्चालन गर्न लागेको सो कार्यालयले जनाएको हो ।
राष्ट्रिय परिचयपत्रको सेवा पालिकामा नै दिनका लागि यस अघि सञ्चालन रहेकोमा विभिन्न कारणले बन्द भएकोमा प्रयोग विहीन बनेका ती उपकरणहरू जिल्ला प्रशासन कार्यालयले आफ्नो मातहत ल्याएर काउन्टर थप गरेपछि सेवा ग्राहीलाई राहत पुग्ने विश्वास धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालको रहेको छ ।
पाँच वटा काउन्टरबाट दैनिक रुपमा ३ सय जनाले परिचयपत्र बनाउने गरेकोमा दुई वटा काउन्टर थप भएपछि सेवाग्राहीलाई सेवा पाउनमा छिटो छरितो हुनुका साथै सेवा पाउनेहरूको सङ्ख्यामा वृद्धि हुने विश्वास उहाँको रहेको छ ।
राष्ट्रिय परिचयपत्र बनाउनका लागि बिहान ७ बजेदेखि नै सेवाग्राहीहरू जिल्ला प्रशासन कार्यालय धनुषामा पुगेर लाममा बस्ने गरेका छन् । राष्ट्रिय परिचयपत्रको आधारमा नै सेवाग्राहीले फोटो सहितको मतदाता परिचयपत्रका विवरण आफै भर्न मिल्ने भएकाले परिचयपत्र बनाउनेहरूको सङ्ख्यामा वृद्धि भएको छ ।
यसका साथै राष्ट्रिय परिचयपत्र सरकारी कामकाज, वैदेशिक रोजगारी, ज्येष्ठ नागरिकको भत्ता, सामाजिक सुरक्षाका अन्य भत्ताहरू पाउनका लागि अनिवार्य भएका कारणले यसमा भिड बढेको छ । राष्ट्रिय परिचयपत्र नेपाली नागरिकता प्राप्त गरेका जुनसुकै नेपाली नागरिकले बनाउन मिल्ने भएकाले भिड बढेको पाइन्छ ।








प्रतिक्रिया राख्नुहोस्