तपाईँ सुन्दै हुनुहुन्छः

जेनजी आन्दोलनमा जलेको जिल्ला प्रशासन कार्यालय बाँके ६१ दिनमा पुनःनिर्माण सुरु

बाँके । जेनजी आन्दोलनको क्रममा भाद्र २४ गते भएको आगलागीमा जलेर खरानी बनेको जिल्ला प्रशासन कार्यालय बाँके ६१ दिन पछि  पुनः मर्मत तथा पुनर्निर्माण कार्य सुरु गरिएको छ ।

आगलागीले कार्यालयका अधिकांश कागजात, उपकरण र संरचनामा ठूलो क्षति पु(याएको थियो। सोही कारण सेवा प्रवाह अस्थायी रूपमा साँघुरा कोठाबाट गर्नुपरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार, “मर्मत कार्य तीव्र गतिमा भइरहेको छ। मङ्सिर २७ गतेभित्र पुनः निर्माण सम्पन्न गरी स्थायी कार्यालय भवनबाट नै सेवा प्रवाह सुरु गर्ने योजना छ ।,” उहाँका अनुसार निर्माण कार्यमा २५ देखि ३० लाख रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको छ।

पुनर्निर्माण कार्यको आज प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रशासकीय अधिकृत रामकुमार सोनखरले संयुक्त रूपमा अनुगमन गर्नु भएको छ ।

जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालयसहित सार्वजनिक सम्पत्तिमा भएको क्षतिपछि पनि प्रशासनले नागरिकका लागि सेवा प्रवाह रोकिएको छैन। अधिकारीले भन्नुभयो, “हामीले कठिन परिस्थितिमा पनि नागरिकका आधारभूत सेवामा कुनै अवरोध आउन नदिन निरन्तर काम गरिरहेका छौँ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button