तपाईँ सुन्दै हुनुहुन्छः

‘नो–पे, नो–लाइट’ अभियान : बक्यौता नतिर्ने १८२ को बिजुली काटियो

बाँके । नेपाल विद्युत् प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रले बक्यौता रकम नतिर्ने ग्राहकविरुद्ध सख्त कदम चालेको छ । प्राधिकरणले तीन दिनभित्रै १८२ जना ग्राहकको बिजुली लाइन काट्दै करिब १ करोड ३४ लाख ६२ हजार ४ सय २० रुपैयाँ बक्यौता असुली गर्ने प्रक्रिया अघि बढाएको छ ।

वितरण केन्द्रका लेखा अधिकृत बुद्धि सागर भुसालका अनुसार अभियान शुरु भएको तिन दिनमै ७६ जना ग्राहकले बक्यौता रकम तिरेका छन्, जसबाट ४१ लाख ८९ हजार ९० रुपैयाँ असुल भएको छ । उहाँले भन्नुभयो, “बाँकी ग्राहकले बिल तिरेपछि मात्र उनीहरूको लाइन पुनः जडान गरिनेछ ।”

गत शुक्रबारदेखि सुरु गरिएको यो अभियान अन्तर्गत प्राधिकरणले स्मार्ट मिटरमार्फत उद्योगी र व्यवसायीहरूको लाइन काट्ने कार्य अघि बढाएको हो । भुसालका अनुसार, “लाइन प्रयोग गरेबापतको बिल ६० दिनभित्र तिर्नुपर्ने कानुनी व्यवस्था छ । उक्त अवधिभित्र बिल नतिर्ने उपभोक्तामाथि अब स्वचालित रूपमा कारबाही हुनेछ ।”

वितरण केन्द्रका प्रमुख इन्जिनियर जगन्नाथ लामिछानेले ‘नो–पे, नो–लाइट’ अभियानलाई तीव्रता दिइएको बताउनुभयो । 

नेपालगञ्जका एक व्यवसायीले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो, “बिल तिरेपछि मात्र बिजुली आउँछ भन्ने थाहा त थियो, तर यति चाँडो काटिन्छ भनेर सोचेकै थिएन” भन्दै समयमै बिल तिर्नुपर्ने महसुस भएको बताउनुभयो ।

प्राधिकरणका अनुसार, यो अभियानले बाँकेका सयौँ ग्राहकमा बिल तिर्ने हतारो र सचेतता ल्याएको छ । संस्था अब उपभोक्तासँग सहकार्य गरेर विद्युत् सेवा अझ व्यवस्थित, भरपर्दो र पारदर्शी बनाउन प्रतिबद्ध रहेको जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button