तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेका सात स्थानीय तहमा ‘लम्पी स्किन’ रोग नियन्त्रणमा

बाँके। बाँके जिल्लाका सात स्थानीय तहमा दुई महिनाअघि देखिएको ‘लम्पी स्किन’ रोग नियन्त्रणमा आएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जका निमित्त प्रमुख तथा वरिष्ठ पशु चिकित्सक गणेशबहादुर पुनका अनुसार खोपको उपलब्धता र मौसममा आएको परिवर्तनका कारण रोगको संक्रमण घट्दै गएको हो ।

उनका अनुसार केही स्थानमा दुईवटा पशु मरेका भए पनि अहिले अधिकांश क्षेत्रमा अवस्था सामान्य बनेको छ । दसैँअघि सातवटै स्थानीय तहका करिब १५० भन्दा बढी पशु चौपायामा लम्पी स्किनको संक्रमण पुष्टि भएको थियो ।

यो रोग राप्तीसोनारी, जानकी, नरैनापुर, खजुरा, बैजनाथ, डुडुवा गाउँपालिका र कोहलपुर नगरपालिकाका केही क्षेत्रमा फैलिएको थियो ।

जानकी गाउँपालिकाका पशु सेवा शाखा प्रमुख दिलबहादुर खड्काका अनुसार संक्रमण देखिएलगत्तै खोप वितरण र पशुको आहारामा ध्यान दिइएकाले रोग नियन्त्रणमा आएको हो । उनका अनुसार केही किसानले आफ्नै खर्चमा औषधि किनेर उपचार गरेका थिए भने केहीलाई गाउँपालिकाले सहयोग प्रदान गरेको थियो । हाल १६२ संक्रमित पशु चौपायामध्ये सातवटा मात्र उपचारमा छन् ।

राप्तीसोनारी गाउँपालिकाका पशु सेवा शाखा प्रमुख जयबहादुर कार्कीका अनुसार गाउँपालिका–६ को खल्ला टपरीबाट सुरु भएको संक्रमण पछिल्लो समय वडा नं. ८ सम्म पुगे पनि अहिले नियन्त्रणमा आएको छ । “सुरुमा भ्याक्सिनको अभावले चुनौती थियो, तर अहिले अधिकांश पशुमा लम्पी स्किन नियन्त्रणमा आएको छ,” उनले बताए ।

नरैनापुर गाउँपालिकाका पशु सेवा शाखा प्रमुख जगतराम यादवका अनुसार नरैनापुरमा ८५ वटा पशुमा संक्रमण देखिए पनि भयावह स्थिति छैन ।

अधिकारीहरूका अनुसार निरन्तर निगरानी, खोप व्यवस्थापन र जनचेतनामूलक कार्यक्रमका कारण संक्रमण घट्दै गएको र रोग स्थायी रूपमा नियन्त्रणमा ल्याउने प्रयास जारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button