छिन्नमस्ता-५ लोखरममा झाडापखालाबाट ६५ जना संक्रमित
सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरममा फैलिएको झाडापखालाको प्रकोप नियन्त्रणमा आउन सकेको छैन। गाउँपालिकाको स्वास्थ्य शाखाले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार हालसम्म ६५ जना व्यक्ति झाडापखालाबाट प्रभावित भएका छन्।

गाउँपालिकाको प्रतिवेदनमा उल्लेख गरिए अनुसार २४ घण्टाको अवधिमा थप ६ जना नयाँ बिरामी फेला परेका छन्। हालसम्म ४४ जना बिरामी निको भइसकेका छन् भने २१ जना सक्रिय बिरामी छन्। तीमध्ये ७ जना राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचाररत छन् भने ६ जना होम आइसोलेसनमा छन्।
प्रतिवेदनमा हालसम्म ११ जना बिरामीमा RDT परीक्षण पोजिटिभ आएको उल्लेख छ। साथै, अहिलेसम्म ५ जना बिरामीमा हैजा (Cholera) संक्रमण पुष्टि भएको जनाइएको छ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र प्रसाद यादवका अनुसार युनिसेफ, रेडक्रस, सबल नेपाल, सेभ द चिल्ड्रेन लगायतका संस्थाहरूले प्रभावित क्षेत्रमा सहयोग गरिरहेका छन्। पानी शुद्धीकरणका लागि क्लोरिन वितरण, सरसफाइ सचेतना र स्वास्थ्य परामर्श कार्यक्रम निरन्तर भइरहेको उनले बताए।
गाउँपालिकाले दैनिक साँझको ५:३० बजे अद्यावधिक तथ्याङ्क प्रकाशित गर्ने जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्