तपाईँ सुन्दै हुनुहुन्छः

झापा महिला गोल्डकप : सङ्कटा सेमिफाइनलमा प्रवेश

झापा । झापाको शिवसताक्षीस्थित दुधे रङ्गशालामा जारी एलभिडी झापा महिला गोल्डकप अन्तर्गत तेस्रो क्वार्टर फाइनलमा सङ्कटा फुटबल क्लब काठमाडौँले घरेलु टोली झापा एफसीलाई एकतर्फी खेलमा ६–० को फराकिलो जीत दर्ता गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको सुरुवातदेखि नै सङ्कटाले आक्रामक खेल प्रस्तुत गरेको थियो । निरन्तर दबाब बनाइरहेको सङ्कटाले २३ औँ मिनेटमा अग्रता बनायो । राष्ट्रिय खेलाडी पूर्णिमा राईको सटिक क्रसमा सेनु परियारले उत्कृष्ट फिनिसिङ गर्दै पहिलो गोल गरिन् भने पहिलो हाफको इन्ज्युरी समयमा सुनिता भुलानको असिस्टमा समीक्षा मगरले गोल गर्दै सङ्कटाको अग्रता २–० बनाइन् ।

दोस्रो हाफको ५५ औँ मिनेटमा छिरिङ वांग्देनले पूर्णिमा राईको ब्याक हिल पासमा गोल गर्दै टोलीलाई ३–० को स्थितिमा पुर्‍याइन् । ६१ औँ मिनेटमा पूर्णिमा राईले सेनु परियारको पासमा गोल गर्दै अन्तर ४–० बनाइन् । ८३ औँ मिनेटमा रेनिसा शर्माको लङ रन क्रसमा उनले अर्को गोल थपिन् । नियमित समयको अन्तिम मिनेटमा अरुणा स्याङतेनले मैदान प्रवेश गरेको केही मिनेटमै गोल गर्दै सङ्कटाको जीत ६–० मा पक्का गरिन् ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेकी पूर्णिमा राई प्लेयर अफ द म्याच भइन्, उनले नगद १५ हजार र ट्रफी प्राप्त गरिन् ।

खेलपछि झापाका प्रशिक्षक सन्देश श्रेष्ठले तयारी अभावका कारण टोलीले अपेक्षित प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिनुभयो । सङ्कटा क्लबका प्रशिक्षक रविन्द्र शिलाकारले भने टोलीले रणनीतिअनुसार खेल्दै सहज जीत निकाल्न सफल भएको बताउनुभयो ।

प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ । विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button