वैदेशिक रोजगार विभागद्वारा धरौटी अध्यावधिक गर्नेसम्बन्धी सूचना
काठमाडौँ । वैदेशिक रोजगार विभागले जेनजी प्रदर्शनका क्रममा भएको आगजनीका कारण जलेर नष्ट भएका धरौटी तथा बैङ्क ग्यारेन्टी रकमको अभिलेख अद्यावधिक गर्न आवश्यक प्रमाण पठाउन सरोकार भएका सबैलाई सूचना जारी गरेको छ ।
विभागले गत भदौ २४ गतेको आगजनीमा जलेर नष्ट भएका धरौटी तथा बैङ्क ग्यारेन्टी रकमको अभिलेख अद्यावधिक गर्न आवश्यक प्रमाण उपलब्ध गराउन वैदेशिक रोजगार व्यवसायी र अन्य संस्थालाई सूचना प्रकाशित गरी ध्यानाकर्षण गराएको हो ।
वैदेशिक रोजगारसम्बन्धी व्यवसाय गर्ने म्यानपावर कम्पनीहरूको शाखा विस्तार, अभिमुखीकरण तालिम सञ्चालन, घरेलु कामदार पठाउने, न्यायिक धरौटीलगायत प्रयोजनका लागि विभागले धरौटी लिँदै आएको छ । उक्त रकम विभागले वैदेशिक रोजगार ऐन तथा नियमावलीबमोजिम मुद्दती खातामा एकमुष्ट रूपमा जम्मा गर्ने गरेको छ ।
गत भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा भएको आगजनीमा विभागका अभिखेल जलेर नष्ट भएका छन् । सोही कारण प्रत्येक म्यानपावर कम्पनीको धरौटीको छुट्टाछुट्टै विवरण नदेखिने भएकाले कागजात जलेर नष्ट भएको विषयमा जिल्ला प्रहरी परिसर काठमाडौँले गत असोज २७ गते मुचुल्का तयार गरेको विभागले सूचनामार्फत उल्लेख गरेको छ ।
सोही मुचुल्काका आधारमा नष्ट भएका धरौटी अभिलेख अध्यावधिक गर्न वैदेशिक रोजगार व्यवसायी, अभिमुखीकरण संस्था लगायतसँग सम्बन्धित कागजात र प्रमाण उपलब्ध गराउन आग्रह गरिएको विभागले जनाएको छ ।
सूचनाअनुसार म्यानपावर कम्पनी वा अभिमुखीकरण तालिम प्रदायक संस्थाबाट धरौटी दाखिलाको भौचरको प्रमाणित प्रतिलिपि, बैङ्क ग्यारेन्टीको प्रमाणित प्रतिलिपि, धरौटीको यथार्थ विवरणसहितको स्वघोषणापत्र, आवश्यक परे बैङ्कबाट भएको कारोबारको प्रतिलिपि, व्यक्तिगत धरौटीका हकमा भौचर र निवेदन, धरौटी प्रयोजन खुलेको पत्र तथा नागरिकताको प्रतिलिपिसमेत पेस गर्नुपर्ने जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्