अध्यक्षद्वारा प्राध्यापकमाथि कुटपिट
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका वडा १ स्थित भुवनेश्वरी आधारभूत विद्यालयकी प्रधानाध्यापक अञ्जना भण्डारीलाई सोही विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश भनिने खाम्सोङ तामाङले कुटपिट गरेका छन् ।
अध्यक्ष तामाङको कुटाइबाट प्रधानाध्यापक भण्डारीको आँखामा गम्भीर चोट लागेको र धुलिखेल अस्पताल काभ्रेमा उपचार भइरहेको विद्यालयले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिको बैठक बसिरहेको बेला अध्यक्ष तामाङले आफूमाथि एक्कासी कुटपिट गरेको पीडित भण्डारीले बताउनुभयो । प्रधानाध्यापक भण्डारीका अनुसार कार्तिक १८ गते बैठक बस्नका लागि सबै सदस्यहरूलाई पत्र काट्न अध्यक्ष तामाङले आदेश दिएको र सोही अनुसार पत्र काटि सो दिन बैठक बसिरहेको थियो । पत्रमा बैठक बस्ने मिति कार्तिक १८ गते हुनुपर्नेमा कार्तिक १७ गते भएको र सोही गल्तीलाई लिएर अध्यक्ष तामाङले आँखामा नै गम्भीर चोट लाग्ने गरि आफूमाथि कुटपिट गरेको प्रधानाध्यापक भण्डारीको आरोप छ । आफ्नो गल्ती स्वीकार गर्दै आफूले पटक पटक माफी माग्दा पनि बैठकको निर्णय लेखिरहेको बेला हाम्रो ठाउँमा आएर हामीसँगै नै मुखमुखै लाग्ने भन्दै आँखामा नै मुक्का हानेको पीडित प्रधानाध्यापक भण्डारी बताउनुहुन्छ । यसअघि पनि अध्यक्ष तामाङले आफू लगायत अन्य शिक्षकहरूलाई पनि टर्चर दिने गरेको प्रधानाध्यापक भण्डारीले आरोप लगाउनुभयो ।
घटनाको घोर भत्सर्ना गर्दै नेपाल शिक्षक महासङ्घ, पालिका कार्य समिति इन्द्रावती, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन इन्द्रावती गाउँपालिका समितिले छुट्टाछुट्टै विज्ञप्ति निकाल्दै दोषीउपर कारबाही गर्न माग गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्