सहकारी संस्थाको ८८ करोड ७० लाख हिनामिना गरेको आरोपमा अध्यक्ष सहित ७ जना पक्राउ
पोखरा । पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ८८ करोड ७० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा सहकारीका अध्यक्ष सुरेन्द्रबहादुर गोदार सहित सात जना पक्राउ पर्नु भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार बिहान अध्यक्ष गोदार सहित अन्य ६ जनालाई पोखराबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सहकारीका कोषाध्यक्ष हिरामणि दाहाल, सचिव दिलबहादुर केसी, सदस्य दोर्जे तामाङ, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, सुपरभाइजर मार्केट प्रमुख बेदी प्रसाद सुवेदी र सञ्चालक इन्द्रप्रसाद दुवा रहनु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले बताउनु भयो ।
सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशद्वारा तयार पारिएको छानबिन प्रतिवेदनका आधारमा उहाँहरूलाई पक्राउ गरिएको हो। “सहकारीमा ठुलो रकम हिनामिना भएको उजुरीका आधारमा थप अनुसन्धान गर्दा अध्यक्षदेखि व्यवस्थापकसम्म प्रत्यक्ष संलग्न देखिएकाले पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ,” उहाँले बताउनुभयो ।
सहकारीका पदाधिकारीहरूले बिनाधितो ऋण, नक्कली खाता र अवैध लगानी मार्फत करोडौँ रकम दुरुपयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । सहकारी रजिस्ट्रारको कार्यालयमा बचतकर्ताहरूले रकम नपाएको उजुरी दिएपछि गरिएको छानबिनमा सहकारीका सञ्चालक, व्यवस्थापक र ऋणीहरू मिलेर ठगी गरेको तथ्य खुलेको थियो।
सन् २०५८ सालमा स्थापना भएको पोखरा बचत तथा ऋण सहकारीले हाल पोखरा–९ नयाँबजारमा आफ्नो प्रधान कार्यालय र पोखरा–८ सिर्जनाचोक तथा पोखरा–१० अमरसिंहमा सेवा केन्द्र सञ्चालन गर्दै आएको छ । प्रहरीले पक्राउ परेका माथि जिल्ला अदालत कास्कीबाट म्याद थप गरी थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्