तपाईँ सुन्दै हुनुहुन्छः

प्रकृतिलाई खुसी पार्न तोरन तार्ने चलन

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तिनचुलेको बराह तालमा प्रकृतिलाई खुसी पार्न तोरन तारिएको छ । 

म्याग्दीको अर्मन र बागलुङको ताराखोलाका बासिन्दाहरूले गाउँबाट लगेको तोरणलाई बाजागाजा सहित समुन्द्री सतहदेखि दुई हजार नौ सय ३२ मिटर उचाइमा रहेको तिनचुलेको बराह ताल र शिवालय मन्दिर परिक्रमा गराएर विधिपूर्वक तानिएको हो । 

खेती किसानी र पशुपालन गर्ने स्थानीयबासीहरुले परापुर्वकालदेखि हरेक वर्षको कात्तिक शुक्ल पूर्णिमाका दिन प्रकृतिलाई खुसी पार्न सामूहिक रुपमा तोरण तार्ने चलनलाई यस वर्ष पनि निरन्तरता दिइएका धार्मिक पर्यटकीय क्षेत्र तिनचुले संरक्षण तथा प्रवर्द्धन समितिका सल्लाहकार भपिन्द्र घर्तीले बताउनुभयो । 

“कात्तिक पूर्णिमाका दिन तिनचुले बराह तालमा तोरन तारेमा गाउँमा अनिष्ट, प्राकृतिक विपद्, महामारी, रोगब्याधी नहुने र शिवालय मन्दिरमा पूजाआजा गरेमा मनोकाङ्क्षा पुरा हुने जनविश्वास रहेको छ,” उहाँले भन्नुभयो “चार वटा टोलबाट सामूहिक र भाकल पुरा भएकाले व्यक्तिगत रुपमा तोरण ल्याएर तार्ने चलन छ ।”

बैकुुण्ठ चर्तुुदर्शीका साँझ गाउँ गाउँबाट माझखर्कमा लगिने तोरनलाई त्यहाँ देखि डोलीमा चढाएर बाजा र भजनकिर्तन सहित बराहताल र शिवालय मन्दिर परिक्रमा गराई तान्ने चलन छ । शिवालय मन्दिर देखि बराहतालको पुर्वी छेउको रुखमा तोरन तान्ने गरिएको छ । 

बाबियोको डोरी बाटेर थरिथरिका फुलहरू गाँसेर तोरन बनाउने चलन छ । तोरन लिएर पुगेका भक्तजनहरू बैकुुण्ठ चर्तुदर्शीको रात माझखर्कमा रहेको धर्मशालामा जाग्राम बसेर भजनकिर्तन गर्ने गर्छन् । 

यस वर्ष पाँच वटा तोरन तारिएको र करिब एक हजार जना भक्तजनले शिवालय मन्दिरमा पुजापुज तथा दर्शन गरेका समितिका अध्यक्ष धनबहादुर घर्तीले जानकारी दिनुभयो । तोरन तार्न र पूजाआजाका लागि आएका भक्तजनहरूलाई समितिले निशूल्क प्रसाद र चिया वितरण गरेको थियो । 

ताराखोला, करिमेला, हिले, नागबेलीखोला, सिप, अर्गल, सिरकुुम, निस्कोट, टिकावाङ, किमचौर, अर्मन, नेटा, बाबियाचौर, पिपलबोट लगायतका ठाउँबाट भक्तजन आएका थिए । माझखर्कबाट तिनचुलेतर्फ तोरन लैजानुअघि अन्धनिशान र छेलो फाल्ने प्रतियोगिता भएको थियो । 

पहलमान पहिचान गर्न गरिने थेलो फाल्ने प्रतियोगितामा विजयी भएका टिकावाङका लालबहादुर पटेललाई पहलमान घोषणा गरिएको थियो । पटेललाई फेता गुटाएर काँधमा बोकेर मन्दिर र बराह ताल परिक्रमा गरिइएको थियो । 

म्याग्दी र बागलुङ दुवै तर्फबाट सडक र पदमार्गले जोडिएको तिनचुलेमा यातायातको सहज सुविधासँगै भक्तजनको आगमन बढेको समितिका सचिव पूर्णभद्र निउरेले बताउनुभयो । 

ताराखोला, मङ्गला गाउँपालिका, गण्डकी प्रदेश सरकार र समुदायको सहकार्यमा तिनचुलेलाई धार्मिक पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्न पूर्वाधार निर्माणमा जोड दिएको उहाँले बताउनुभयो । सिस्ने, गुर्जा, धौलागिरि, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमालको सम्मुखमा रहेका तिनचुले पर्यटकीय हिसाबले पनि सम्भावनायुक्त रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button