‘गरिबी निवारण, सामाजिक समावेशीकरण, दिगो विकास र समृद्धि लोकतन्त्रका आधार स्तम्भ
कतार ( दोहा ) । राष्ट्रपति रामचन्द्र पौडेलले गरिबी निवारण, सामाजिक समावेशीकरण, समृद्धि र दिगो विकास लोकतन्त्रका आधारस्तम्भ भएको बताउनुभएको छ ।
कतारको दोहामा आजबाट शुरु भएको दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलन अन्र्तगत यहाँ आयोजित सामाजिक विकासका तीन स्तम्भहरूको सुदृढीकरणः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो ।
गत तीन दशकमा उल्लेखनीय प्रगति हासिल भए तापनि सामाजिक विकासका क्षेत्रमा धेरै समस्या र चुनौतीहरू विद्यमान रहेको उहाँको भनाई थियो । राष्ट्रपति पौडेलले ८० करोडभन्दा बढी मानिस चरम गरिबीमा बाँचिरहेको, धेरै देशमा बेरोजगारी दर अझै उच्च रहेको, लाखौं मानिस मर्यादित कामको खोजीमा आफ्नो देश छोडिरहेका तथा पूर्ण, समान एवम् अर्थपूर्ण समावेशीकरण र सहभागिता अझै प्राप्त हुन बाँकी छ भन्नुभयो ।
उहाँले गरिबी निवारणलाई नेपालले उच्च प्राथमिकता दिएको बताउनुभयो । फलस्वरुप, उद्यमशीलता विकाससहित स्वदेशमै रोजगारीका अवसरहरू सिर्जनाका गर्न प्रयास भईरहेको तथा सीप विकासमा लगानी गरी डिजिटल अर्थतन्त्रलाई प्रवद्र्धन गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले सुदृढ लोकतान्त्रिक र समावेशी नीतिहरू, जवाफदेही संस्थाहरू र पारदर्शी सार्वजनिक सेवा प्रवाहमार्फत सुशासन कायम गर्नुपर्नेमा जोड दिनुभयो ।
साथै, उहाँले एजेन्डा २०३० को तीव्रतर कार्यान्वयन गर्न र अति कम विकसित तथा जोखिममा रहेका मुलुकहरूलाई आवश्यक सहयोग गर्न विश्वव्यापी ऐक्यबद्धता र सहकार्यलाई थप सुदृढ बनाउनुपर्छ भन्नुभयो । “यसका लागि नेपाल विश्व समुदायसँग हातेमालो गर्न तयार छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा दोहामा यही कात्तिक १८ देखि शुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार यहाँ आउनुभएको हो । सो अवसरमा राष्ट्रपति पौडेललाई दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका विदेश मन्त्रालय र त्यहाँस्थित नेपाली राजदूतावासका उच्चपदस्थ पदाधिकारीले स्वागत गर्नुभएको थियो ।
राष्ट्रपति पौडेल सम्मेलनमा सहभागी भएर कात्तिक २० गते स्वदेश फर्कनुहुने कार्यक्रम छ ।







प्रतिक्रिया राख्नुहोस्