तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेश सभाको बैठक यही कार्तिक २४ गते बस्ने

पोखरा । गण्डकी प्रदेश सभाको बैठक यही कार्तिक २४ गते बस्ने भएको छ । गण्डकी प्रदेश सभा सचिवालयले आज (मङ्गलवार) जारी गरेको सूचना पत्रमा कार्तिक २४ गते सोमबार दिउँसो १ बजे बस्ने सूचना जारी गरिएको प्रदेश सभाका सचिव गोविन्द पौडेलले बताउनु भयो । 

यसअघि असोज २२ गतेका लागि तोकिएको बैठक विशेष कारणवश स्थगित गरिएको थियो । जेनजी आन्दोलनको क्रममा प्रदेश सभा सचिवालय सहितको भवनमा आगजनी भएर ध्वस्त भए पछि उक्त बैठक कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाहल, मालेपाटन, पोखरामा बस्ने तयारी गरिएको उहाँले जनाउनु भयो । 

प्रदेश सभा नियमावली, २०८० को नियम ६ को उपनियम (२) बमोजिम उक्त सूचना जारी गरिएको सूचना पत्रमा उल्लेख गरिएको छ । 

त्यस अघि गत भदौ २५ मा बैठक डाकिएको थियो, तर त्यसअघि दिन अर्थात् भदौ २३ र २४ गते ‘जेन–जी आन्दोलन’का क्रममा भएको आगजनीले प्रदेश सभा भवन पूर्ण रूपमा जलेर ध्वस्त बनेपछि बैठक अनिश्चित बनेको थियो ।

सभामुख कृष्णप्रसाद धितालले जेन–जी आन्दोलन र पछिल्ला राजनीतिक परिस्थितिले गर्दा आन्तरिक नयाँ ठाउँमा बैठक सञ्चालन गर्न केही समय लागेको बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button