रौतहटमा ४० हजार राष्ट्रिय परिचयपत्र अलपत्र
रौतहट । रौतहटमा करिब ४० हजार राष्ट्रिय परिचयपत्र तयार भएर आए पनि सर्वसाधारणले लिन नआएपछि ती कार्डहरू महिनौँदेखि जिल्ला प्रशासन कार्यालय गौरमा थन्किएका छन् । वितरण प्रक्रियामा देखिएको सुस्तताप्रति चिन्ता जनाउँदै प्रशासनले आम नागरिकलाई आफ्नो परिचयपत्र लिन कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधि तिवारीका अनुसार, नागरिकका लागि तयार भइसकेका ४० हजार राष्ट्रिय परिचयपत्र कार्यालयमा नै थन्किएका छन् । उहाँका अनुसार, नागरिकले आफ्नो परिचयपत्र तयार भएको वा नभएकोबारे जानकारी लिन कार्यालयमा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ ।
नायब सुब्बा राम नरेश साहका अनुसार, कार्यालयले वितरणका लागि आवश्यक व्यवस्था पूरा गरिसकेको छ । तर, नागरिक स्वयं उपस्थित नभएकाले हजारौँ कार्डहरू फाँटमै थन्किएका छन् ।
प्रशासनको अनुमान अनुसार, धेरैजसो नागरिकलाई आफ्नो परिचयपत्र तयार भएको जानकारी नै छैन । कतिपय व्यक्ति रोजगारी, अध्ययन वा अन्य कारणले जिल्ला बाहिर भएकाले पनि लिन आउन नसकेको बताइएको छ ।
हाल राष्ट्रिय परिचयपत्र अनिवार्य कागजातको रुपमा सरकारी सेवा, बैङ्किङ कारोबारदेखि सामाजिक सुरक्षा भुक्तानीसम्मका सबै कार्यमा प्रयोग भइरहेको छ । नयाँ नागरिकता वितरणसँगै राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि नागरिकहरू बनाउने दौडमा त देखिन्छन्, तर बनेपछि लिन बेवास्ता गर्ने प्रवृत्ति भने बढ्दो छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटका सूचना अधिकारी मनिष झाका अनुसार प्रशासनले छिट्टै सार्वजनिक सूचना जारी गरी नागरिकलाई जानकारी दिने तयारी गरेको छ । साथै, नगरपालिका, गाउँपालिका र वडा कार्यालयमार्फत पनि सूचना प्रवाह गर्ने योजना बनाइएको छ, जसले गर्दा सबै नागरिकले आफ्नो परिचयपत्र लिन सहज हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्