तपाईँ सुन्दै हुनुहुन्छः

अस्पतालको लापरबाही अस्वीकार्य, दोषीमाथि कारबाही हुन्छ : मन्त्री शर्मा

बाँके । बाँकेको भेरी अस्पतालमा देखिएको लापरबाहीका कारण ६ वर्षीय बालकको ज्यान गएको घटनापछि नागरिक समाज, चिकित्सक र अभियन्ताहरू आक्रोशित बनेका छन् । उनीहरूले अस्पताल प्रशासन र सम्बन्धित चिकित्सकमाथि तत्काल छानबिन र कारबाहीको माग गरेका छन् ।

डुडुवा गाउँपालिका–६, हिरमिनिया बकौलीका ६ वर्षीय दीपेश चमारको उपचारको अभावमा मृत्यु भएपछि भेरी अस्पतालको निष्क्रियता र बिरामीप्रतिको असंवेदनशीलताबारे व्यापक प्रतिक्रिया आउन थालेको हो । भेरी अस्पतालको लापरबाहीका विरुद्धमा डा. अबुल हुसेन अन्सारीले आज नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमसँग भेट गरी गम्भीर ध्यानाकर्षण गराएका छन् ।

डा. अन्सारीले भन्नुभयो “भेरी अस्पतालको बिरामीप्रतिको यस्तो हदसम्मको असंवेदनशीलता अब सह्य छैन। नागरिकको ज्यानसँग खेलबाड गर्ने, जोखिम बढाउने अधिकार कसैलाई छैन। सम्बन्धित निकायले तुरुन्तै छानबिन गरी दोषीमाथि कडा कारबाही गरोस् ।”

उहाँले भन्नुभयो, भेरी अस्पतालमा आइसियु बेड सधैँ छैन भन्दै बिरामी फर्काइने तर निजी क्लिनिकका बिरामीका लागि भने बेड अग्रिम बुक हुने गरेको गम्भीर समस्या तत्काल अन्त्य हुनुपर्ने आवश्यकता रहेको मन्त्री गौतम सँग आग्रह गर्नु भएको थियो ।

स्वास्थ्य मन्त्री डा। गौतमले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै तत्काल तथ्यसहितको प्रतिवेदन माग गरिएको जानकारी दिनुभयो । “बालकको मृत्यु दुःखद र संवेदनशील विषय हो। अस्पतालको प्राथमिक जिम्मेवारी उपचार गर्नु हो, त्यसमा कुनै पनि ढिलाइ वा लापरबाही भए अनुसन्धान गरेर कडा कारबाही गरिनेछ,” मन्त्री गौतमले भन्नुभयो ।

उहाँले थपिनुभयो,“देशभरका स्वास्थ्य संस्थाहरूलाई बिरामीप्रति उत्तरदायी र संवेदनशील बन्न निर्देशन दिइनेछ, नागरिकको ज्यान सरकारका लागि सर्वोच्च प्राथमिकता हो ।”

आइतबार दिउँसो करिब २ बजे डुडुवास्थित सामुदायिक विद्यालय अगाडि घोडा गाडी (बुग्गी) ले ठक्कर दिँदा कक्षा १ मा पढ्ने दीपेश गम्भीर घाइते भए । स्थानीयले तुरुन्तै उनलाई भेरी अस्पताल पुर्‍याए तर अस्पतालले उपचार सुरु नगरी विभिन्न बहानामा सञ्जीवनी अस्पताल (नर्सिङ होम) मा रेफर गर्‍यो ।

अर्को अस्पताल लैजाँदै गर्दा बाटोमै बालकको मृत्यु भयो । प्रत्यक्षदर्शीका अनुसार, अस्पताल पुगेका बेला बालक जीवित थिए र तत्काल उपचार गरिएको भए बच्ने सम्भावना उच्च थियो ।

राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व आयुक्त मोहना अन्सारीले आफ्नो सामाजिक सञ्जालमा लेख्नु भएको छ,“हिजो रुबीजीले एक्सिडेन्टमा घाइते बालकलाई भेरी अस्पतालले प्राथमिक उपचार नै नगरी रिफर गरेपछि मृत्यु भएको जानकारी दिनुभयो, जसले मलाई अत्यन्तै चिन्तित बनायो। मैले उहाँसँग घटनाको कारण सोधेँ, उहाँले जुन जवाफ दिनुभयो, त्यो अझ पीडादायी छ।”

पूर्व आयुक्त अन्सारीले अस्पतालको कार्यशैलीप्रति प्रश्न गर्दै सोध्छिन्,“के भेरी अस्पतालमा उपचार विधि छैन ? कि डाक्टर नै छैनन् किन तत्काल उपचार नगरिएन र किन निजी अस्पतालमा रिफर गरियो ?”

उहाँले थप लेख्नु भएको छ, “नागरिकको जीवन यति सस्तो किन बनाइएको हो ? के उपचार पाउन नेता वा पहुँचवाला मात्र हुनुपर्ने हो ? सामान्य नागरिकले उपचार पाउन के गर्नु पर्ने हो ?”

अन्सारीका अनुसार भेरी अस्पताल लुम्बिनी प्रदेशकै एक सक्षम र प्राविधिक रूपमा सुसज्जित स्वास्थ्य संस्था हो । तर त्यहाँको सेवा निश्चित समूह र चिकित्सकको पहुँचमा सीमित हुनु गम्भीर चिन्ताको विषय भएको छ ।

“भेरी अस्पताल प्रदेशकै प्रमुख स्वास्थ्य केन्द्र हो तर यदि त्यसको सेवा आम नागरिकको पहुँच भन्दा सीमित घेरामा मात्र छ भने यो गम्भीर प्रश्न हो,” उनले लेख्नु भएको छ, “स्वास्थ्य क्षेत्रमा भइरहेको यो हदको लापरबाही अक्षम्य छ।”

उहाँले स्वास्थ्य क्षेत्रमा फैलिँदो दण्डहीनता र गैरजवाफदेहिताको अन्त्य गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै भन्नुभयो,“अब केवल ध्यानाकर्षणले पुग्दैन, स्वास्थ्य सेवालाई प्रभावमुक्त र उत्तरदायी बनाउन ठोस कदम चाल्न आवश्यक छ।”

नेपालगन्जकी सामाजिक अभियन्ता रुबी खानले पनि स्वास्थ्य मन्त्रीसँग टेलिफोनमार्फत सम्पर्क गर्दै घटनाको सम्पूर्ण विवरण दिएकी छिन् । उनले भेरी अस्पतालमा निरन्तर दोहोरिँदै आएका यस्ता लापरबाही घटनाहरूको शृङ्खला अन्त्य गर्न माग गर्दै भनिन् “यो कुनै एक घटनाको कुरा होइन, यो प्रणालीगत बेवास्ताको परिणाम हो। अब सम्बन्धित निकायले तुरुन्त सत्यतथ्य पत्ता लगाई जिम्मेवारमाथि कानुनी कारबाही गरोस्।”

बालबालिकादेखि वृद्ध बिरामीसम्मलाई बेवास्ता गर्ने भेरी अस्पतालको सेवाप्रति जनआक्रोश तीव्र बन्दै गएको छ । नागरिक, चिकित्सक र अभियन्ता सबैको साझा माग — “नागरिकको ज्यानसँग खेलबाड गर्नेहरूलाई अब माफ नगरियोस्।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button