यलुङ रि हिमाल आरोहण: बेपत्ता ८ जनाको सकुशल उद्धार, ७ जनाको मृत्यु
दोलखा। दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ९ स्थित रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ रि हिमाल आरोहण गर्न गएका १५ जना मध्ये ८ जनाको सकुशल उद्धार गरीएको छ ।

सोमवार बिहान यलुङ रि हिमाल आरोहणको क्रममा हिमपहिरोमा परी ७ जनाको मृत्यु भएको थियो भने ८ जना बेपत्ता भएका थिए ।
मङ्गलवार बिहान घाइते चार जना सहित आठै जनाको हेलिकप्टर मार्फत सकुशल उद्धार भएको ड्रिम डेक्सटिनेसनका फुर्वा तेन्जी शेर्पाले बताउनुभयो । उद्धार गरिएका आठै जनालाई काठमाडौँ लगिएको ना गाउँमा रहेका ड्रिम डेक्सटिनेसनका फुर्वा तेन्जीले बताउनुभयो । मृतक मध्य दुई जनाको शव हिउँबाट निकालिएको र बाँकी शव निकाल्ने काम भइरहेको उहाँको भनाई छ ।
मृतकहरुमा दुई जना नेपाली दोलखा गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ९ का पदम तामाङ र सोलुखुम्बु जिल्ला बुक्साका मेरा कार्की रहेको गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ९ का वडा अध्यक्ष निमगेली शेर्पाले बताउनुभयो । मृत्यु भएका पाँच जना विदेशीमा फ्रान्सका दुई जना, इटलिका एक जना, जर्मनका एक जना र क्यानेडियन एक जना रहेको र उनीहरूको नाम खुल्न बाँकी रहेको वडा अध्यक्ष शेर्पाले बताउनुभयो ।

उद्धार गरिएका चार जना घाइते मध्य नेपाली दुई जना लाक्पा तामाङ र सुन बहादुर गुरुङको महाराजगन्ज स्थित हेम्स अस्पतालमा र विदेशी दुई जना आईसबेल्ड सोलङ्ग (महिला) र डिडिर आरमन्ड विफरोन (पुरुष) को सोह्रखुट्टे स्थित ईरा इन्टरनेस्नल अस्पतालमा उपचार भई रहेको नेपाली सेनाको गरुण दल गणका गणपति कर्णेल लोक सागर कटुवालले बताउनु भयो ।
बेपत्ता र घाइतेको उद्दारको लागि सोमवार दिउँसो ना गाउँमा हेलिकप्टर पुगेको भए पनि मौसमका कारण खोजी र उद्दारको काम हुन सकेको थिएन । सोमवार हेलिकप्टरले खोजी तथा उद्दारको लागि ना गाउँबाट एक जना विदेशी र तीन जना शेर्पालाई यलुङ रि हिमाल क्षेत्रमा पुर्याएको थियो ।
गत कार्तिक ११ गते विभिन्न समूहमा नेपाली तथा विदेशी गरी १५ जना आरोहणको लागि दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ९ मा पर्ने रोल्वालिङ क्षेत्रमा रहेको ५६३० मिटरको यलुङ रि हिमाल तर्फ गएका थिए । सोमवार बिहान ४ बजे बेसक्याम्पबाट आरोहणको लागि प्रस्थान गरेको उक्त टोली बिहान ८ बजेतिर यलुङ रि हिमालको चुचुरोमा पुग्ने क्रममा हिमपहिरोमा परेका थिए ।








प्रतिक्रिया राख्नुहोस्