तपाईँ सुन्दै हुनुहुन्छः

कोशी प्रदेशमा निःशुल्क कृत्रिम हात वितरण कार्यक्रम सुरु

सुनसरी। कोशी प्रदेशमा निःशुल्क कृत्रिम हात वितरण कार्यक्रम इटहरीबाट सुरु भएको छ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री  रेवती रमण भण्डारीको प्रमुख आतिथ्यतामा आज इटहरीमा “निःशुल्क कृत्रिम हात नापजाँच, जडान तथा वितरण कार्यक्रम” सुरु भएको हाे।

करुणा फाउण्डेसन नेपाल (करूणा नेपाल) र द ह्यान्ड प्रोजेक्टको सहकार्यमा सुरु गरिएको यो १० दिने विशेष शिविर कात्तिक १७ देखि २६ गतेसम्म सञ्चालन हुनेछ। यस अवधिमा दैनिक २०–२५ जनासम्मका अपाङ्गता भएका व्यक्तिहरूलाई हल्का, सहज र प्राकृतिक देखिने कृत्रिम हात जडान गरिनेछ।

कार्यक्रमको उद्घाटन गर्दै मन्त्री भण्डारीले अपाङ्गता भएका व्यक्तिहरूले सहायक सामग्री पाउनु अधिकार नै हो भन्ने कुरा जोड दिनुभयो। उहाँले लाभग्राहीहरूलाई नियमित अभ्यास र आत्मनिर्भर जीवनतर्फ उन्मुख हुन प्रेरित गर्नुभयो। साथै, कोशी प्रदेश सरकार अपाङ्गता अधिकारका क्षेत्रमा सचेत रहेको र पुनः स्थापनाका कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

मन्त्री भण्डारीका अनुसार प्रदेश सरकारले १३७ वटै स्थानीय तहमा अपाङ्गता सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिसकेको छ। उहाँले भन्नुभयो , “अपाङ्गता भएका व्यक्ति पनि नागरिक हुन्, उनीहरूलाई समान अधिकार र सुविधा सुनिश्चित गर्नु राज्यको दायित्व हो। यी कार्यक्रमहरू दान होइन, अधिकारका रूपमा लिनुपर्छ।”

भण्डारीले हाल प्रदेशले ८० करोड रुपैयाँ भौतिक क्षतिको सामना गरिरहेको र ३०० घर पुनर्निर्माण गर्नुपर्ने अवस्थाले बजेटमा दबाब पारे पनि सामाजिक कार्यक्रमहरू नकटाइने प्रतिबद्धता जनाउनुभयो 

करुणा फाउन्डेसनको निर्देशक योगेन्द्र गिरीले यो अभियानले अपाङ्गताको समस्या भोगिरहेकाहरूलाई दैनिक जीवनमा कार्य गर्न सहयोग मिल्ने बताउनु भयो  । सरकारले अपाङ्ग समावेशी समाज निर्माणका लागि नीतिगत रूपमा धेरै काम गर्न बाँकी रहेको उहाँको ठहर छ  । उहाँले कोशी प्रदेशलाई समावेशी र पहुँचयुक्त बनाउँदै  पूर्वाधार निर्माण गर्दा अपाङ्गमैत्री बनाइनु पर्ने कुरामा जोड दिनुभयो  ।

कार्यक्रममा क्रिस्टोफर जेम्स (न्यूजिल्यान्ड) लगायत अन्तर्राष्ट्रिय सहयोगी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। उनीहरूको टोलीले कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएकाहरूलाई आफैँ स्वास्थ्य परीक्षण गरी कृत्रिम हात वितरण गरिरहेका छन् ।

 कार्यक्रमलाई ‘द हेन्ड्स प्रोजेक्ट जर्मनी’ले सहयोग गरेको हो, र करुणा फाउन्डेसनले यसलाई ६४ वटा पालिकामा त्रिपक्षीय साझेदारीमा सञ्चालन भइरहेका कार्यक्रमहरूमध्ये एकका रूपमा अघि बढाएको छ।

जर्मनी, न्युजिल्याण्ड र युगान्डाबाट आएका प्राविधिक टोलीहरूले नापजाँच, जडान र तालिमका कार्यहरू सञ्चालन गरिरहेका छन्। कार्यक्रम अन्तर्गत कोशी प्रदेशका १३ जिल्लाका २०४ जना अपाङ्गता भएका व्यक्तिहरू लाभान्वित हुनेछन्

कार्यक्रम प्रदेशका १३७ स्थानीय तहहरूमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button