तपाईँ सुन्दै हुनुहुन्छः

यलुङ रि हिमाल आरोहणको क्रममा ७ जना बेपत्ता

दोलखा । दोलखाको रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ रि हिमाल आरोहणको लागि गएको १५ जनाको टोली मध्य ७ जना बेपत्ता भएको स्थानीयले बताएका छन् । त्यसमध्ये केहीको मृत्यु समेत भएको हुनसक्ने स्थानीय बताउँछन् । अन्य केही भने घाइते भएको स्थानीयको भनाई छ ।

गत कार्तिक ११ गते आरोहणको लागि दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ९ मा पर्ने रोल्वालिङ क्षेत्रमा रहेको ५६३० मिटरको यलुङ रि हिमाल गएको र आरोहणको क्रममा सोमवार बिहान ८ बजेतिर हिमपहिरोमा परी उनीहरू बेपत्ता भएको स्थानीय बताउँछन् । 

गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ९ का वडा अध्यक्ष निमगेली शेर्पा आफूले पनि यलुङ रि हिमाल आरोहणको क्रममा केही आरोही बेपत्ता भएको खबर पाएको र त्यसबारे थप जानकारी लिने प्रयास गरिरहेको बताउँछन् । 

आरोहण टिममा दुई÷तीन वटा ग्रुप रहेको बुझिएको छ । एउटा ग्रुपमा दुई जना विदेशी सहित चार जना रहेको र उनीहरू यलुङ रि आरोहण लगतै ६ हजार मिटर माथिको रोल्वालिङ क्षेत्रमै पर्ने डोल्मा खाङ हिमाल आरोहणको तयारीमा रहेको बुझिएको छ । डोल्मा खाङ हिमाल आरोहणको तयारीमा रहेको दुई जना भने ना गाँउमा बसेको स्थानीयले बताए । 

उनीहरू बेपत्ता भएको खबर ना गाँउमा १० बजेतिर थाहा भएको र लगतै उद्धारको लागि हेलिकप्टर मगाइएको भएपनि कानुनी प्रक्रिया पुरा गर्दा ४/५ घण्टासम्म पनि हेलिकप्टर आउने अवस्था नभएको बेपत्ता आरोहीका साथीहरूले गुनासो गरे । हेलिकप्टर बेलामै आउन सकेको भए उद्धारमा सहज हुने उनीहरू बताउँछन् । 

दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोले यलुङ रि हिमाल आरोहणका क्रममा १५ जना मध्य ७ जना बेपत्ता भएको खबर प्राप्त भएको र उनीहरूको खोजी तथा उद्धारको प्रयास भइरहेको बताए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button