तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्ज भन्सार कार्यालयमा अनलाइन भन्सार डाटाबेस प्रणाली सुरु

वीरगञ्ज । सरकारले भन्सार मूल्याङ्कनमा एकरूपता, पारदर्शिता र अन्तर्राष्ट्रिय मापदण्डको अनुपालन सुनिश्चित गर्ने लक्ष्यसाथ वीरगन्ज भन्सार कार्यालयबाट औपचारिक रूपमा ‘अनलाइन भन्सार डाटाबेस प्रणाली सुरु गरेको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार, प्रचलित सन्दर्भ मूल्य सूची विस्थापन गर्दै उक्त प्रणालीलाई अर्थमन्त्री रामेश्वरप्रसाद खनालले ‘डिजिटल’ माध्यमबाट उद्घाटन गरेसँगै आजबाट वीरगन्ज भन्सारमा ‘अनलाइन भन्सार डाटाबेस प्रणाली लागु भएको छ । 

त्यस अवसरमा अर्थमन्त्री खनालले यो प्रणालीले निजी क्षेत्रलाई सुरक्षा र सुशासनको प्रत्याभूति दिँदै पारदर्शी व्यापार वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो ।

बाहाँले अन्तर्राष्ट्रिय व्यापारमा विश्व व्यापार सङ्गठनद्वारा अनुमोदित ‘अनलाइन भन्सार डाटाबेस प्रणालीलाई नेपालले भन्सार ऐन र नियमावलीमा अङ्गीकार गरिसकेको सन्दर्भमा कारोबार मूल्यलाई मान्यता दिने गरी यो प्रणालीको परीक्षण सुरु गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा अर्थ सचिव घनश्याम उपाध्याय, भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी, अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री, राजस्व अनुसन्धान विभागका महानिर्देशक तीर्थ चिलुवाल, वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवाली, एसियाली विकास बैंकका भन्सार मूल्याङ्कन विज्ञ निर्मलहरि अधिकारी, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम लगायतको सहभागिता थियो ।

भन्सार विभागका अनुसार अनलाइन डाटाबेस प्रणाली लागू भएपछि मूल्य निर्धारणमा देखिँदै आएको फरक–फरक अभ्यास अन्त्य भई भ्रष्टाचारमा कमी आउने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button