छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते
गुल्मी। गुल्मीको मालिका गाउँपालिका–३ म्यालमा आफ्नै छोराद्वारा बुवा–आमामाथि धारिलो हतियार प्रहार हुँदा बुवाको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छन्।
२३ वर्षीय भोट बहादुर बिकले आफ्ना बुवा करिब ५० वर्षीय धनबहादुर बिक र आमा करिब ४८ वर्षीया दिलमाया बिकलाई हसिया र काठको मुंग्रोले प्रहार गरेका थिए। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार धनबहादुर बिकको घटनास्थलमै मृत्यु भएको छ।
घाइते दिलमाया बिकलाई गम्भीर चोट लागेपछि उपचारका लागि जिल्ला अस्पताल तम्घास हुँदै प्रादेशिक अस्पताल बुटवल पठाइएको छ। घटनाबारे सूचना पाएलगत्तै प्रहरी चौकी अर्खवाङ्गबाट प्रहरी सहायक निरीक्षक मानबहादुर घर्तीको नेतृत्वमा टोली खटिएको थियो।
थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त सेनको नेतृत्वमा अर्को टोली पनि घटनास्थल पुगेको छ। कुटपिट गर्ने छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक बुझाइ अनुसार उनको मानसिक सन्तुलन ठिक नभएको जानकारी प्रहरीले दिएको छ।
मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास पठाइएको छ र घटनाको थप अनुसन्धान जारी छ।








प्रतिक्रिया राख्नुहोस्