मनास्लु क्षेत्रको मौसममा सुधार, पहिरोमा परेका पर्यटकको अवस्था अझै अज्ञात
गोरखा । गोरखा जिल्लाको मनास्लु क्षेत्रको मौसममा सुधार भएको छ ।

आज बिहानै देखि साम्दो क्षेत्रमा घाम लागेको छ । बिहानै देखि मौसम सफा भए पनि पर्यटकहरू बाहिर निस्केर तस्बिर खिच्ने, बाहिर बसेर ब्रेकफास्ट लिने गर्न थालेका छन् । मौसमको अवस्थामा सुधार आए आज लार्केपासका लागि धर्मशाला सम्म जान सकिने अवस्था रहेको स्थानीय निमा तामाङले जानकारी दिनुभयो ।
धर्मशालामा रहेका कुकहरु समेत साम्दोमा रहेका हुनाले त्यस तर्फ लाग्नु अघि कुक समेत सँगै लैजानुपर्ने अर्का स्थानीय निमा दोर्जे लामाको भनाई छ । जिल्लाको तल्लो क्षेत्रमा भने मौसममा सुधार भएको छैन । जगतबाट फिलिम पुग्न सकिने अवस्था छैन । आरुघाटबाट माछिखोला जाने सडक खण्डको नौलीखोला खण्डमा खोलाले ह्युम पाइप बगाउँदा आवतजावत बन्द भएको छ । लार्केपासका लागि तल्लो क्षेत्रबाट जाने मानिसहरूलाई मौसममा पूर्ण सुधार र बाटोहरू तयार नहुँदा सम्म नजानका लागि जिल्ला प्रशासन कार्यालय गोरखाले सूचना जारी गरेको छ ।

प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार चुमनुब्री–३ न्याक फेदीनेर खसेको पहिरोमा चेक रिपब्लिककी ५४ बर्सिया क्याटरिना रस्कोभाको अवस्था अहिले सम्म पत्ता लागेको छैन । खसेको भनिएको ठाउँ पुर्णरुपमा बुढी गण्डकीमा मिसिएको छ । हिजो त्यहाँ पुग्न सकिएन आज सिर्दीवास प्रहरी चौकीको टिम पुगेको श्रेष्ठले बताउनुभयो । हिँड्ने गरेको बाटो सबै भिर भएर गण्डकीमा मिसिएको अवस्थामा रहेको प्रहरीको भनाई छ ।
शुक्रवार दिउँसो २ बजे न्याक फेदी अगाडि भिरमा पहिरो खस्दा रस्कोभा बेपत्ता भएकी हुन् । उनका श्रीमान् र गाइड भट्ट भने सकुशल नै रहेका प्रहरीले जानकारी दिएको छ । गाइडले दिएको सूचना अनुसार त्यस क्षेत्रमा पहिरो गरेको जानकारी भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्