तपाईँ सुन्दै हुनुहुन्छः

जोमसोम-कागबेनी सडक भाँसिदा गन्तव्यमा नपुगी फर्किए पर्यटक

मुस्ताङ । निरन्तरको वर्षाका कारण जोमसोम–मुक्तिनाथ–कोरला सडकखण्ड भासिएपछि मुक्तिनाथ दर्शन गर्न गएका सयौँ भक्तजन तीर्थयात्री गन्तव्यमा नपुगी जोमसोमबाट फर्किएका छन् । जोमसोम–पान्डाखोलाबीचको सडक बिहीबार वर्षाका कारण करिब २५ मिटर भाँसिएको थियो ।

जोमसोम–कोरला सडक भासिएपछि मुक्तिनाथ दर्शन गर्न जाने भक्तजन सवार यातायातका साधनलाई स्थानीय प्रशासन र सुरक्षा निकायको समन्वयमा जोमसोममा रोकिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो ।

उहाँका अनुसार राष्ट्रिय गौरवको बेनी–जोमसोम खण्ड सहज भए पनि वर्षाका कारण उक्त सडक भासिएपछि टाढाटाढाबाट मुक्तिनाथ दर्शन गर्न गएका भक्तजनको यात्रा जोमसोममै पूर्णविराम लागेको हो ।

प्रजिअ भुसालले जोमसोममाथिको सडक भासिएपछि जोमसोमबाट मुक्तिनाथ जाने सवारीसाधनलाई माथि जान रोक लगाइएको बताउनुभयो । उहाँका अनुसार मुक्तिनाथबाट फर्किने क्रममा सडक भाँसिएको स्थानमा अलपत्र परेका सवारीसाधनलाई सुरक्षा निकायको समन्वयमा जोमसोम तल झार्ने कार्य भइरहेको छ ।

जोमसोमबाट मुक्तिनाथतर्फ जान जोखिमपूर्ण रहेकाले रोकिएको बताउँदै प्रजिअ भुसालले उहाँले निरन्तर वर्षा भइरहेकाले तत्काल सडक सञ्चालनमा ल्याउन नसकिने जानकारी दिनुभयो । आवश्यक स्थानमा ड्रेन निर्माण नहुँदा अविरल वर्षाले सडक संरचनामा क्षति पुगेको उहाँको भनाइ छ ।

उक्त सडक अवरुद्ध भएपछि मुक्तिनाथ जानका लागि मुस्ताङ आएका अधिकांश पर्यटक जोमसोमबाट फर्किएका छन् । कतिपय पर्यटक भने सडक खुल्ने पर्खाइमा जोमसोममा बसेका स्थानीय मनिता थकालीले बताउनुभयो ।

जोमसोम–कागबेनी र कागबेनी–छुसाङ खण्डका आधा दर्जन बढी स्थानमा बाढीपहिरोले सडक तथा अन्य संरचनामा क्षति पुगेकाले मौसम र सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न जिल्ला प्रशासन कार्यालयले सबैमा अनुरोध गरेको छ ।

राष्ट्रिय गौरवको सडकअन्तर्गत आव २०७३÷७४ मा ग्राभेलसहित कालोपत्रका लागि उक्त खण्डको ठेक्का सम्झौता भई काम अघि बढेको थियो । सात खण्डमा विभाजन गरिएको उक्त सडकअन्तर्गत पहिलो खण्ड विसं २०७६ मा आयोजना कार्यालयलाई हस्तान्तरण गरिएको थियो ।

विसं २०७९ मा जोमसोम-कागबेनी १३ किमी कालोपत्रका लागि ठेक्का लगाइएकामा गत वर्ष सम्पन्न गरी निर्माण कम्पनीले आयोजनालाई हस्तान्तरण गरेको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button